जनकपुरधाम – राष्ट्रिय मानव अधिकार आयोगले गौर हत्या दोहोर्याउने अभिव्यक्ति दिएकी संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँग स्पष्टीकरण लिएको छ।
मन्त्री यादवलाई बिहीबार केन्द्रीय कार्यालयमा बोलाएर स्पष्टीकरण लिएको आयोगले जनाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले यादवलाई उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति नदोहोर्याउन उनलाई निर्देशन समेत दिएको बताइएको छ।

“अभिव्यक्ति स्वतन्त्रता नागरिकको मौलिक अधिकार भए पनि त्यो अनियन्त्रित र सीमाविहीन हुन नसक्ने, आफ्नो अधिकारको प्रयोग गर्दा अरूको मर्यादामा चोट पुग्न सक्ने तर्फ सचेत रहनुपर्ने र जिम्मेवार पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिंदा मानव अधिकारको न्युनतम मूल्य-मान्यतालाई आत्मसात् गर्दै सामाजिक सदभाव, शान्ति सुरक्षा र अमनचैन खलबलिने खालका अभिव्यक्ति भविष्यमा नदिन आयोगले मन्त्री यादवलाई आग्रह गरेको छ,” आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्खेख गरिएको छ।
स्पष्टीकरण दिन पुगेकी मन्त्री यादवले आफ्नो अभिव्यक्ति असन्तुलित र अनियन्त्रित भएको स्विकार्दै भविष्यमा त्यस्तो नदोहोर्याउने प्रतिबद्धता जनाइन्। यद्यपि, आफ्नो भनाइ कसैप्रति लक्षित नभएको उनको दाबी थियो।
५ माघमा रौतहटमा आयोजित कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर नरसंहार दोहोर्याउने धम्की दिएकी थिइन्। १५ वर्ष अघि २०६३ चैतमा मन्त्री यादव कै पार्टीको आक्रमणमा माओवादी समर्थित २८ जनाको मृत्यु भएको थियो।
[pdf-embedder url=”https://shirishnews.com/wp-content/uploads/2022/02/Press_release_2078-10-201.pdf”]


