एजेन्सी – भारतीय टिभी सिरियल ‘महाभारत’मा भीमको भूमिकामा रहेका प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेर निधन भएको छ।
‘महाभारत’ सिरियलमा निकै लोकप्रिय बनेका प्रवीणले कयौं बुलिउड फिल्ममा समेत काम गरेका छन्। उनी लामो समयदेखि बिरामी थिए।
अभिनयमा आउनुभन्दा पहिलो उनी चर्चित खेलाडी थिए। उनले एसियन गेममा २ स्वर्ण, १ रजत र १ कास्य पदक जितेका थिए। त्यस्तै कमनवेल्थ गेममा समेत पदक जितेकाे भारतीय समाचारमा उल्लेख छ।
खेल क्षेत्रमा लोकप्रिय बनेपछि उनी सीमा सुरक्षा बलमा समेत केही समय काम गरेका थिए। खेल र सुरक्षा बलकाे जागिरपछि अभिनय क्षेत्रमा प्रवेश गरेका उनी यो क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएका थिए।
पछिल्लो समय छातीको संक्रमणले गर्दा लामो सयय बिस्तारामा परेपछि उनी आर्थिक संकटमा थिए। अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक जितेका खेलाडीलाई पेन्सनको व्यवस्था गरेको सरकारबाट आफुलाई कुनै सहयाेग नभएकाेमा उनी निराश थिए।