जनकपुरधाम । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले जथाभावी तरिकाले खोला उत्खनन् गर्ने गरेको पाइएको छ ।
आफूखुशी बालुवा र गिट्टी उत्खनन् गरेर ती कम्पनीका कामदारले सडक बनाउने काममा प्रयोग गरिरहेका छन् । पछिल्लो पटक प्रहरीले धनुषाको गणेशमान चारनाथ नगरपालिका ५ स्थित कमला खोलामा बालुवा र गिट्टी उत्खनन् गर्दै गरेको पाइएको छ । उत्खनन् गर्दै गर्दा प्रहरीले ७ वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ ।धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतका अनुसार ना.८ ख. ६१२४, ना.८ ख. ८३७३, प्र.–२–०१–०० ३ ख. ००५८, प्र. २–०१–००१ख.००५९, प्र.२–०३–००१ ख ३२२७, प्र. २–०३–००१ ख. ५०८४, प्र.२–०१–००१ख. ०१११ नम्बरको टिपर र सिआरइजिसीई ३०७ नम्बरको स्काभेटर नियन्त्रणमा लिइएको हो ।
उनीहरुले सम्बन्धित निकायबाट कुनै किमिसको अनुमति नलिई खोला उत्खनन् गर्दै गरेको पाइएपछि नियन्त्रणमा लिइएको बस्नेतले बताए । ती टिपरबाट बालुवा, गिट्टी उत्खनन् गरेर सिरहामा राख्ने काम हुँदै आएको थियो ।‘ठूलो आयोजनाका निर्माण कम्पनी भएपनि उत्खनन् गर्दा स्थानीय तह या समन्वय समितिबाट अनुमति लिनुपर्ने हो तर नलिएको पाइएपछि नियन्त्रणमा लिइएको बस्नेतले बताए । नियन्त्रणमा लिइएका सवारी साधन प्रहरी चौकी पोर्तामा राखिएको छ ।