
सप्तरी- पत्रकार तथा अधिकारकर्मी मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको साढे एक महिना बितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको छ ।
सूचना तथा समाचार संकलन गरेर फर्किदै गरेका बेला जिल्ला प्रहरी कार्यालयको परिसरमा पोखरेललाई कुटपिट गर्ने असई ४० वर्षीय राजेश्वर महतोमाथि कारवाही गर्न माँग गर्दै जिल्ला प्रहरी कार्यालय पुगे पनि उजुरी दर्ता गर्न नमानेको नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले बताउनु भयो । एसपी नरेन्द्रकुमार कार्कीले उजुरी दर्ता गर्न र दरपिठ गर्न समेत नमानेपछि फर्किएको महासंघका केन्द्रीय सदस्य अवधेश झाले बताउनु भयो ।
उजुरी दर्ता गर्न पीडित पोखरेलसहित प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अवधेश झा, महासंघ सप्तरी शाखाका सदस्य दिनानाथ यादव, इन्सेक प्रदेश संयोजक राजु पासवान, एडभोकेसी फोरमका अधिवक्ताह? राजकुमार महासेठ र कुमार प्रसाद थपलिया जिल्ला प्रहरी कार्यालय जानु भएको थियो ।
कुटपिट गरेको स्वयम् आरोपितले साउन १५ गते स्विकार गरेको, सीसीटिभीमा समेत प्रमाण रहेको र पोखरेलमाथि दुव्र्यवहार/हातपातमा संलग्न भन्दै असई महतोलाई साउन १६ गतेदेखि प्रहरीले नै निलम्बन गरेको अवस्थामा आन्तरिक कारवाहीको निणर्य अझै भएको छैन् । पीडितले न्यायका लागि प्रचलित कानून बमोजिम दिन पाउने उजुरी प्रहरीले लिन नमानेको इन्सेक प्रदेश संयोजक पासवानले बताउनु भयो ।
विपक्षी जिल्ला प्रहरी कार्यालय समेत भएको गर्भपतन मुद्दामा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट २०८० जेठ २६ गते भएको परमादेश अनुसारको २०८० साउन ७ गतेको पत्र जिल्ला प्रहरी कार्यालय सप्तरीमा दर्ता भए पनि उजुरी दर्ता नभएकोमा निवेदककै आग्रहमा प्रमाण खण्डका साक्षी समेत भएर २०८० साउन १५ गते जिल्ला प्रहरी कार्यालय जाँदा पोखरेलमाथि असई महतोले मुक्का र बुटले आक्रमण गरेका थिए । मुद्दा फाँटबाट बाहिरदै गर्दा अचानक आएका असई महतोले गालीगलौज गर्दै धम्काएर रिसाउँदै कार्यालय भित्र गएको एक दुई मिनेटमा फर्किएर मुक्का र बुटले प्रहार गरेको पीडितले बताउनु भयो । पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको थियो ।
प्रहरीबाट भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले एक सातासम्म आन्दोलन गरेपछि साउन ३० गते सिडिओ भूपेन्द्र थापा, एसपी कार्की र पत्रकार महासंघबीच दोषी असई महतोलाई प्रचलित कानुन अनुसार कारवाही गर्ने सहमति भएको थियो । तर प्रचलिन कानुन बमोजिम प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि न्यायका लागि कानुन बमोजिम प्रकृया अगाडि बढाउने पत्रकार पोखरेलले बताउनु भयो ।
उक्त घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोग, फोरम एशिया, इन्सेक, नेपाल पत्रकार महासंघ, आमसञ्चार प्राधिकरण जनकपुरधाम, पत्रकार तथा मानव अधिकार सम्बद्ध विभिन्न संघ-संगठन, सप्तरी जिल्ला वार इकाई, राजविराज उच्च अदालत वार एशोसिएशन, गैसस महासंघ सप्तरी, सामुदायिक सेवा केन्द्र, सप्तरी र सप्तरीमा क्रियाशील ६ राजनीतिक दललगायतले दोषीलाई कारवाही गर्न माँग गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।