प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम कायम गर्न जनकपुर उद्योग बाणिज्य संघ द्वारा मुख्यमन्त्री सहित मन्त्रीहरूलाई छुट्टाछुट्टै ज्ञापन पत्र वीरगन्ज राजधानी माग्दै मुख्यमन्त्री राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन जनकपुरधाम- प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम बनाउन व्यवसायीहरूले दबाब दिएका छन् भने अर्को तर्फ वीरगन्ज राजधानी माग्दै मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन गरेका छन्। आज स्थायी राजधानी माग्दै जनकपुरधाम उद्योग बाणिज्य संघले मुख्यमन्त्री सहित मन्त्रीहरूलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका छन्।
स्थायी राजधानी नतोकिएकै कारण प्रदेशमा लगानी गर्न तयार रहेका देश र देश बाहिरका लगानीकर्ताहरू अन्यत्र जान थालेकाे भन्दै प्रदेशको आर्थिक विकासमा असर परिरहेका व्यवसायी संघले जनाएकाे छ। संघले बुझाएको ज्ञापन पत्रमा राजधानी तोकेर छिटो निकास दिनु जरुरी रहेको उल्लेख गरिएको छ । प्रदेशको भौगौलिक परिवेश, ऐतिहासिक पृष्ठभूमि, प्रदेशको जनताको पहुँच समेतको दृष्टिकाेणले जनकपुरधामलाई नै राजधानी घोषणा गरी निकास दिने तर्फ कदम चाल्न ज्ञापनमा आग्रह गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले ज्ञापन पत्र बुझ्दै नाम र राजधानी तोक्ने काम प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने बताए । संवैधानिक व्यवस्था अनुसार यो कार्यमा ह्वीप लगाउने प्रावधान नभएकाले दुई तिहाई बहुमतले नै निर्णय हुने उनले जनाए । संघका महासचिव मनोजकुमार साहले जनकपुरधामलाई राजधानी नतोक्न षडयन्त्र भइरहेकाले ज्ञापन बुझाएको बताए । उनले सबै राजनीतिक दलको संसदीय दलका नेता समेतलाई ज्ञापन बुझाइने बताए । आज बसेको प्रदेश सभा बैठकमा संसदीय समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ भने अहिलेलाई केही समय सम्मका लागि बैठक स्थगित गरिएको छ । त्यसैगरि अर्को तर्फ प्रदेश २को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोल स्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि आइतबार बिहान युवाहरुले धर्ना दिँदै प्रदर्शन गरेका हुन्। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले "वीरगन्जलाइ राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, वीरगन्जवासी जिन्दावाद" लगायतका नारा पनि लगाएका थिए। प्रदेश २ को स्थायी राजधानी टुङगो लगाउन प्रदेशसभामा सोमबार मतदान हुँदैछ। प्रदेश राजधानीका लागि अहिलेको अस्थायी राजधानी जनकपुरधाम र वीरगन्जगरी दुईवटा फरक फरक प्रस्ताव दर्ता भएको छ। मुख्यमन्त्री राउत वीरगन्ज कै भएपनि राजधानी जनकपुर बनाउन लागि परेको भन्दै विरगंजका युवाहरुले मुख्यमन्त्री विरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनको अगुवाइ गरेका लोसपा पर्साका उपाध्यक्ष सुजित गिरीले वीरगन्जलाइ राजधानी नबनाए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए। प्रदर्शनमा सहभागी लोसपाका युवा नेता महादेव कुर्मीले मुख्यमन्त्री राउतले मुख्यमन्त्रीको पद जोगाउन वीरगन्जलाइ धोका दिएर जनकपुरलाइ स्थायी राजधानी बनाउन लागि परेको आराेप लगाए। उनले भने,‘लालबाबु राउतलाइ आफ्नो जन्मभूमी र कर्मभूमी वीरगन्ज भन्दा मुख्यमन्त्रीको पद नै प्यारो भएको छ, मुख्यमन्त्रीले वीरगन्जसंग गद्धारी गरिरहेका छन्। यसअघि गत मङगलबार नेपाली काँग्रेसले पनि वीरगन्जलाइ राजधानी बनाउन माग गर्दै वीरगन्जमा बृहत दवाब मुलक जुलुश प्रदर्शन गरेको थियो। यस्तै लोसपाकै वीरगन्जका नेताहरुले पनि वीरगन्जमा जुलुश प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री राउत र लोसपाका संसदीय दलका नेता एंव पूर्वमन्त्री जितेन्द्र सोनललाइ ज्ञापन पत्र बुझाएका थिए।