
महोत्तरी- जिल्लाको मटिहानी नगरपालिकामा सञ्चालित हेफर प्रोजेक्ट नेपाल तथा रतौली युवा क्लब महोत्तरीको संयुक्त आयोजनामा आजदेखि दुई दिने “हेफर आधारशिला तालिम” चितवनको सौराहामा सुरु भएको छ । तालिमले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूलाई दिगो विकास, सामाजिक रूपान्तरण र सामुदायिक सशक्तीकरणका लागि आवश्यक ज्ञान, सीप र दृष्टिकोण प्रदान गर्ने लक्ष्य लिएको छ ।
तालिमको औपचारिक उद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मंडलले तालिमले स्थानीय नेतृत्व क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। उनले भने, “हामी दिगो र स्वावलम्बी समुदाय निर्माणको दिशामा अघि बढिरहेका छौँ, यस्तो तालिमले हाम्रो यात्रा अझ बलियो बनाउनेछ ।”
उप–प्रमुख मंजु देवी साहले महिलाको सहभागिता र सशक्तीकरणमा तालिमले विशेष ध्यान पुर्याउने उल्लेख गर्दै सहभागीहरूसँग तालिममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरिन्। प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्माले संस्थागत संरचना र प्रशासनिक कार्यसम्पादनमा तालिमको महत्त्वपूर्ण भूमिका रहने धारणा राखे ।
कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत किशोर कार्कीले हेफरको दर्शन, मूल्य र लक्ष्यबारे जानकारी दिँदै स्थानीयस्तरमै परिवर्तन ल्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। रतौली युवा क्लबका निर्देशक बैधनाथ चौधरीले क्लबले समुदायस्तरको सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेको र यो तालिम पनि त्यसैको निरन्तरता भएको बताए ।
तालिममा मटिहानी नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू — वडा नं. ३ का नाजिर मियाँ, वडा नं. ४ का अब्दुल गफार, वडा नं. ५ का मिश्री नायक, वडा नं. ६ का कलिम अंसारी, वडा नं. ८ का रितेश साह, वडा नं. ९ का मदन चौधरीलगायत कार्यपालिकाका सदस्यहरू, शाखा प्रमुखहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको छ ।
दुई दिने उक्त तालिममा सहभागीहरूलाई नेतृत्व विकास, सामुदायिक समावेशीकरण, लैंगिक समानता, समूह परिचालन, स्रोत व्यवस्थापन, स्थानीय योजना निर्माण, तथा सामाजिक रूपान्तरणका विषयमा प्रशिक्षण दिइँदैछ। प्रशिक्षकको रूपमा अनुभवी प्रशिक्षक सकुन्तला रसालीले तालिम संचालन गरिरहेकी छन् ।
कार्यक्रम अन्त्यमा सहभागीहरूबीच अन्तरक्रिया तथा अनुभव आदान–प्रदानको समेत अवसर प्रदान गरिने आयोजकले जनाएका छन्। आयोजकहरूले तालिमपछि सहभागीहरूलाई आफ्ना वडाहरूमा सिकेका विषयलाई कार्यान्वयन गर्न सहयोग गरिने बताएका छन् ।

















