
जनकपुरधाम- संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साहले विकासको नाममा दलगत स्वार्थभन्दा माथी उठ्न आग्रह गरेकी छन् ।
कपिलेश्वरनाथ युवा कमिटीले विजयदशमी, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले दलगत स्वार्थभन्दा माथी उठेर काम नगरेसम्म विकास असम्भव रहेको बताए । उनले देश विकासका लागि दलहरु बिच मात्रै नभई स्थानीय, प्रदेश तथा संघ सरकार बिच आपसी समन्वय हुनु आवश्यक रहेको बताइन् । बिना रोडमैप तयार गरी भईरहेको विकास निर्माण अहिलेको समयमा काम नलाग्ने रहेको उनको भनाई थियो । दिगो विकासका लागि सबै तहको सरकारसंग समन्वय गरी रोडमैप तयार गरेर मात्रै विकास निर्माण तर्फ केन्द्रित हुनुपर्नेमा मन्त्री साहको जोड थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य जनकपुर विकास प्राधिकरणको बजेट नगरप्रमुखको गैरजिम्मेवारीका कारण फ्रिज भएको आरोप लगाए । उनले एकै दिन विरगंज र जनकपुर दूबै ठाउँका लागि १६÷१६ करोड रकम खाता पठाइयो, विरगंजले त्यसको सदुपयोग गर्यो तर जनकपुरधाम उपमहानगरको त्यो बजेट फ्रिज भएकोमा आक्रोश व्यक्त गरे ।
लोसपाका महासचिव एवं पूर्व प्रदेशसभा सदस्य परमेश्वर साहले संघियतामाथी चौतर्फी प्रहार भईरहेको बताउँदै संघियताको रक्षाका लागि सबै एक हुनुपर्नेमा जोड दिए । उनले संघियताकै कारण पछिल्लो केही वर्षमा विकासका कामहरु भएको दावी गर्दै यसको रक्षा नभए यस क्षेत्रको विकास पनि सम्भव नहुने तर्फ सचेत गराए ।
कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोज साहको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, पूर्व अध्यक्ष प्रकाशचन्द्र साह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।