काठमाडौं । सरकारले १३ वटा स्थानीय तह थप्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ नयाँ स्थानीय तह थप्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पठाएको हो ।
मन्त्रालयले प्रदेश एकमा दुई वटा, लुम्बिनीमा १० वटा र सुदूरपश्चिमा एउटा स्थानीय तह थप्ने प्रस्ताव गरेको हो । मन्त्रिपरिषदले निर्णय गरेपछि नेपालमा स्थानीय तहको संख्या ७६६ पुग्नेछ ।
‘मन्त्रिपरिषद्को निर्णयपछि निर्वाचन आयोगलाई लेखी पठाउने निर्णय भएको छ,’ सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले भने । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तह थप गर्ने विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग बिहीबार छलफल गरेका थिए ।
स्थानीय तह थप्ने विषय नयाँ होइन । २०७४ सालमा २२ वटा स्थानीय तह थप्ने निर्णय सरकारले गरेको थियो । २०७४ वैशाख महिनामा पहिलो चरणको स्थानीय तह निर्वाचन भएपछि मधेसमा जनसंख्याका आधारमा स्थानीय तह बढाउनुपर्ने आवाज मधेसवादी दलले उठाएका थिए ।
तत्कालीन स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा स्थानीय तह थप गर्ने विषयमा एउटा कार्यदल बन्यो । उक्त कार्यदलले २२ वटा स्थानीय तह थप्ने निर्णय गरेअनुसार मन्त्रिपरिषद् बैठकले निर्णय गर्यो ।
उक्त निर्णय पछि राजपत्रमा पनि सूचना प्रकाशित भयो । तर, उक्त सूचना राजपत्रमा आएपछि त्यसको विरुद्धमा अदालतमा रिट पर्यो । उक्त फैसलामा अदालतले प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन गर्न आवश्यक तयारी भइसकेको अवस्थामा निर्वाचनमा पूर्ण असर पर्न सक्ने भएकाले त्यसलाई हाल कार्यान्वयन नगर्नू भन्ने आदेश दियो ।
यद्यपि प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १३ वटा स्थानीय तहलाई छोडेर अरु तहको निर्वाचन गरियो । तर, मधेस प्रदेशमा असोजमा मात्रै स्थानीय तह निर्वाचन भयो । त्यतिबेला मधेस प्रदेशमा ९ वटा स्थानीय तह थपियो र निर्वाचन पनि भयो ।
त्यसबेला सरकारले गठन गरेको राज्य पुर्नसंरचना आयोगले ७४४ वटा स्थानीय तह बनाउन सुझाव दियो । तर त्यसमा राजनीतिक दलले ९ वटा थपेर ७५३ वटा स्थानीय तह बनाउने सहमति गरे । यसरी त्यसबेला ९५३ तहको चुनाव भयो ।