जनकपुरधाम । सर्लाहीमा माछा बोकेकाे पिकअप गाडीबाट १२६ केजी लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा गाडी चालक धादिङको सिदुलेख गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र बि.क. र गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका–२ का ४८ वर्षीय भिमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर कृष्ण गिरीले जनाए अनुसार विशेष सूचनाको आधारमा शनिवार विहान लालबन्दी नगरपालिका–१ बावानि हेल्थ केयर अगाडी पुर्व पश्चिम लोक मार्गमा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोकेकाे पिकअप गाडीबाट लागुऔषध गाँजा बरामद गरिएको हो ।
इन्स्पेक्टर गिरीले पिकअपमा माछा बोक्ने पहेलो ड्रम भित्रबाट १२६ केजी गाँजा बरामद गरिएको जानकारी दिए ।
प्रहरीले तिनीहरुको साथबाट ८५ हजार नगद समेत बरामद गरेको र थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।