धनुषा : धनुषाको धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा टाटा सुमो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ।
जिल्लाको धनुषाधाम नगरपालिका–९ धारापानीमा सोमबार दिउँसो २ बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ज ३०१८ नम्बरको टाटा सुमो र विपरित दिशाबाट आइरहेको प्रदेश २–०२–००१ प ८३४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो।
ठक्करबाट मोटरसाइकलमा सवार धनुषाको शहीद नगरपालिका–१ बस्ने १७ वर्षीय महेशकुमार सहनी र सोही मोटरसाइकलमा पछाडि सवार धनुषाधाम नगरपालिका–८ मुलाबारीका २४ वर्षीय मनिष विश्वकर्मा गम्भीर घाइते भएका थिए।
घाइते दुबै जनालाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पठाइएको थियो।
उपचारको क्रममा ती दुबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले बताए। मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
दुर्घटनामा परेका मोटरसाइकल, टाटा सुमो र त्यसका चालक इलामको सुर्योदय नगरपालिका १० बस्ने २५ वर्षीय दावा छिरिङ्ग तामाङ्गलाई सहित मोटरसाइकल प्रहरी नियन्त्रण राखिएको उनले बताए।