सर्लाही – हरिवन नगरपालिका–९ नयाँ रोडमा मंगलम डेरी एण्ड फुड्स इन्डस्ट्रिज सञ्चालनमा आएको छ। शुक्रवारदेखि सञ्चालनमा आएको उक्त दुग्ध उद्योग मधेश प्रदेशमै ठूलो रहेको सञ्चालक राघव सिंहले दाबी गरेका छन्।
सञ्चालक सिंहका अनुसार उद्योगमा १० करोड रुपैयाँ लगानी भएको छ। उद्योगले अत्याधुनिक प्रविधिको उपयोग गरी गुणस्तरीय दुग्ध पदार्थ उत्पादन गर्ने उनको भनाइ छ। दैनिक १६ हजार लिटरभन्दा बढी दुधका विभिन्न परिकार तयार गर्न सक्ने उद्योगको क्षमता रहेको उद्योग प्रशासनले जनाएको छ।
उद्योगबाट छुर्पी, पोका दुध, दही, घिउ, पनिर, नौनी, खुवा, आइसक्रिम, कुल्फी, मिठाई, चकलेटलगायत परिकार उत्पादन गर्ने योजना छ। उत्पादित वस्तु सर्लाहीसहित रौतहट, बारा, पर्सा, महोत्तरी र धनुषासम्मका बजारमा पुर्याउने उद्योगका प्रबन्ध निर्देशक सवल सिंहले बताए।
स्थानीय स्तरमा उत्पादित दुध संकलन गरेर विभिन्न परिकार उत्पादन गरिने उद्योगले जनाएको छ। स्थानीय स्तरमा यति ठुलो उद्योग सञ्चालनमा आएको भन्दै दुध उत्पादक किसानमा समेत खुशी छाएको छ। प्रत्यक्ष ३० जना कर्मचारी रहने उद्योगबाट यस क्षेत्रका १५० जना भन्दा बढीले रोजगारी पाउने बताइएको छ।
उद्योग स्थापनामा स्विस कन्ट्याक्ट परियोजनाको समेत प्राविधिक सहयोग रहेको उद्योगका संस्थापक सिंहले जानकारी दिए।


