महोत्तरी - मिथिला मध्यमा परिक्रमा आइतबार रामायणकालीन स्थल मटिहानी पुग्ने भएको छ ।
शुक्रबार भारत बिहारको कल्याणेश्वर स्थानमा १५ दिने परिक्रमाको लागि यात्रीहरुले संकल्प लिइ शनिबार गिरिजा स्थान पुगेका थिए । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा विहीबारदेखि सुरु भए पनि शुक्रबार कल्याणेश्वरमा संकल्प लिए पछि औपचारिक रुपमा सुरुवात भएको छ ।
यस परिक्रमामा १ सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला मध्यमा परिक्रमा बिहीबारदेखि सुरु भएको हो ।
फागुन कृष्णपक्षको औँसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा बिहीबारदेखि सुरु भएको हो । परिक्रमामा सहभागी क्रमशः फूलहर (गिरिजास्थान) हुँदै महोतरीको मटिहानी, जलेश्वर, मडै धु्रबकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्वर र फागुन पूर्णिमाको दिन जनकपुर फर्केर अन्तगृह परिक्रमा गरेपछि समापन हुने गरेको छ ।
यता परिक्रमा अन्तर्गत चौँथो दिन महोत्तरीको मटिहानीमा परिक्रमाको यात्री टोली पुग्ने भएपछि परिक्रमा यात्रीको स्वागतमा आईतबार सार्वजनिक विदा दिइएको छ । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा चौथो दिन आईतबार मटिहानीमा विश्राम गर्ने हुँदा मटिहानी नगरभर सार्वजनिक विदा दिएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।
उनका अनुसार विदाका दिन विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने छ । यस अवसरमा मटिहानीमा भव्य मेलाको आयोजना हुने गरेको छ । सोमबार परिक्रमाका यात्री जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर पुग्नेछन् , त्यसपछि मडै,मंगलबार ध्रुबकुण्ड,बुधबार कञ्चनवन हरिणमरी, विहीबार पर्वता,शुक्रबार धनुषाधाम, शनिबार सतोषर ,आइतबार औरही ,सोमबार विशौल,मंगलबार करुणा हुंदै कल्याणेश्वर स्थानमा पुगेर दर्शन पश्चात जनकपुरधाम फर्किने परम्परा रहेको छ ।