जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह नेपाल नगरपालिका संघको मधेश प्रदेश समितिको संयोजकमा मनोनित हुनुभएको छ। संघले मधेश प्रदेश संयोजकको रिक्त पदमा गत सोमबार प्रमुख साहलाई संयोजकमा मनोनित गरेको हो।
संघको असार १५ गते बसेको कार्यसमिति बैठकले साहलाई प्रदेश समितिको संयोजकका साथै संघको केन्द्रीय कार्यसमितिको पदेन सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो। संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त निर्णयको जानकारी गराइएको हो।



प्रदेश संयोजकका रूपमा साहले मधेश प्रदेशका स्थानीय तहबीच आपसी सहकार्य र समन्वय अभिवृद्धि गर्ने, साझा समस्या तथा आवश्यकतालाई एकीकृत रूपमा उठाउने, नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका सुदृढ बनाउने तथा सङ्घीय, प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई प्रभावकारी बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
उहाँले मधेश प्रदेशका स्थानीय तहका विकास प्राथमिकता, चुनौती र आवश्यकतालाई राष्ट्रिय स्तरमा थप सशक्त रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाल नगरपालिका संघले नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन, सेवा प्रवाहमा सुधार तथा स्थानीय सरकारका साझा हितका विषयमा विभिन्न तहका सरकारसँग समन्वय गर्दै आएको छ।
यसअघि संघको मधेश प्रदेश संयोजकमा धनुषाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादव रहनुभएको थियो। प्रमुख यादवको गत माघ २६ गते उपचारका क्रममा निधन भएपछि उक्त जिम्मेवारी साहलाई दिइएको हो।




