धनुषा - नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशनमा २ हजार ९१२ मत खसेको छ । कुल ३ हजार १७३ मतदाता रहेकोमा २६१ मत कम खसेको हो ।
सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना आजै सुरु गर्ने तयारी छ । आजै राति वा भोलि बिहानसम्म मतपरिणाम आउने बताइएको छ ।
जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सोमबार बिहान ११ बजेदेखि सुरू भएको मतदानमा २ हजार ९१२ जनाले मत खसाएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।
काग्रेस धनुषा सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिमा योगेन्द्र पजियार, दिनेश प्रसैला र संतोष यादवबिच प्रतिस्पर्धा छ ।
उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, सचिव पदमा नरेश यादव, श्यामचन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धीरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैयाकुमार कर्णले उम्मेदवारी दिएका छन् ।
सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजयकुमार यादव र मो. साकिर राइनलगायतले उम्मेदवारी दिएका छन् ।
धनुषामा ९१ पदका लागि २४० उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस धनुषामा ३ हजार १७३ मतदाता रहेका छन् ।
निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने छन् । यस्तै, ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।