धनुषा- नेपाली काँग्रेस धनुषामा संस्थापन इतर पक्षका पदाधिकारीहरू निर्वाचित हुने क्रम जारी रहेको छ । आज सम्पन्न भएका दुई उपसभापति र दुई सचिव पदमा संस्थापन इतरका नेताहरू निर्वाचित भएका छन्।
नेपाली काँग्रेसको उपसभापति पदमा लक्ष्मी यादवले १ हजार २ सय ५४ मत तथा गणेश झाले १ हजार १ सय ४९ मत ल्याई विजयी हुनु भएको निर्वाचन समितिले जनाएको छ ।
यसै गरी दुई जना सचिव देवेन्द्र भरखेल र कन्हैया कर्ण निर्वाचित भएका हुन् । भरखेलले १ हजार १ सय ७७ मत तथा कर्णले १ हजार १ सय ६० मत ल्याएर विजयी हुनु भएको छ । यस अघि संस्थापन इतरका योगेन्द्र पंजियार सभापति पदमा निर्वाचित भइसकेका छन् । अन्य पदको मतगणना जारी रहेको छ ।
नेपाली काँग्रेस धनुषामा संस्थापन पक्षको नेतृत्व सह–महामन्त्री महेन्द्र यादव तथा नेता आनन्द ढुङ्गानाले गर्नु भएको थियो भने संस्थापन इतर पक्षका नेतृत्व नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि, रामकृष्ण यादव, मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले गरेका थिए ।




