जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक वडाध्यक्षले ७ लाख रुपैयाँ दण्ड (जरिवाना) लगाएर यौनकाण्ड मिलाएको रहस्योदघाटन भएको छ ।
सहमतिमा एक युवक र महिलाबीच यौन सम्बन्ध भएपछि राजनीतिक प्रतिशोध साध्नको लागि एक वडाध्यक्षले ७ लाख रुपैयाँ जरिवाना गरी काण्ड मिलाएको खुलेको छ ।
धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ११ शंकपुर डिल टोलस्थित एक युवक र महिलाबीच सहमतिमै भएको यौन सम्बन्धलाई उछालेर वडाध्यक्ष सत्यनारायण दनुवारले राजनीतिक प्रतिशोध साधेको आरोप पीडितले लगाएको छ ।
विवाहित रहेकी सोही ठाउँकी अन्दाजी बर्ष २१ की एक महिलाले सोही ठाउँका एक युवकको बच्चा पेटमा रहेको भन्दै जबरदस्ती बिहेको लागि घर पस्न थालेपछि टोलमा खैलाबैला मच्चिएको हो ।
महिलाले मिलोमतोमा नै यौन सम्बन्ध राखेपछि गर्भवती भएको आरोप लगाउँदै युवकसँग बिहे गर्न दबाब स्वरुप जबरदस्ती घर पस्न थालेपछि काण्ड बाहिर आएको हो ।
महिलाले आफू आरोपित युवकसँग यौन सम्बन्ध राख्दा गर्भवति भएको कुरा परिवारजनलाई समेत बताएको बुझिएको छ । “आफु गर्भवती रहेको भन्दै परिवार जनलाई बताएको थिए।”
परिवारजनले सोधपुछ गर्दा उक्त गर्भ छिमेकी युवकको रहेको महिलाले बताएकी हुन् । परिवारजनले छलफल बसाएर उक्त समस्या समाधानको लागि स्थानीयहरुलाई सुनाएका थिए ।
स्थानीयहरुले उक्त समस्या बारे जानकारी पाए पछि युवकको बुवालाई बताएका थिए। उक्त बिषयमा उनको बुवाले आफ्ना छोरासंग सोध्दा आफु त्यस्तो केहि नगरेको प्रतिक्रिया दिएको बताए ।
उनको बुवालाई युवक ९छोरा० बोलाउ भन्दै छलफल गराउनु पर्ने दबाब दिएका थिए। समाजको कुरा मान्दै उनको बुवाले छोरालाई बोलाएर गाउँकै मदरसामा छलफल गएका थिए ।
सोही क्रममा वडाध्यक्ष दनुवारको इसारामा पँचायतमै केही व्यक्तिहरुले पीडित युवकलाई कुटपिट गरेको बताइएको छ । युवकलाई गालिगलौज गर्दै कुटपिट समेत गरेका थिए भने उनको बुवालाई मदरसामा बन्दि बनाएका थिए।
समाजको कुटपिटको डरले युवक घरबाट भागेको बेला महिलाले जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा निवेदन दिइन् । वडाध्यक्षको उक्साहटमा राजनीतिक प्रतिशोध साध्ने हिसाबले घटनालाई बँग्याएर प्रस्तुत गरिएको आरोप युवकको बुवाले लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदनपछि ईलाका प्रहरी कार्यालय सबैला मार्फत युवकको बुवालाई युवक उपस्थितको लािग पत्राचार गरेको थियो । पत्रको भोलीपल्ट नै युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषामा उपस्थित गराएको बताइएको छ ।
यता, स्थानीयहरुले गाउँमै छलफल गराउने दबाब दिदै एकदिन युवकको घरमा समेत घरेलु हातहतियार लिएर घरमा रहेको महिलाहरुमाथि दुर्ववहार तथा लुटपाट समेत गरेको युवकको बुवाले बताएका छन।
घरमा लुटपाट घटनाबारे वडाध्यक्ष सत्यनारायण दनुवारलाई समेत जानकारी दिएको र दनुवारले कुनै वास्ता नगरेको र घरमा लुटपाट भएको घटनाबारे प्रहरीमा जानकारी दिए उल्टै फँस्ने भनेर धम्काएको आरोप लगाए ।
“म माथी बारम्बार आक्रमण हुन् थालेपछि ज्यानको सुरक्षा पाउँ बारे स्थायी प्रहरी चौकि बरमझियामा समेत निवेदन दिएको छु ।”– युवकको बुवाले भने ।
यता, आफु कानुनको सहारा लिएर मात्र अगाडि बढने बताए पनि वडाध्यक्ष सत्यनारायण दनुवारले गाउँमै छलफल गराउनु पर्ने दबाब दिएर अध्यक्षकै नेतृत्वमा वडा कार्यलयकै प्राङ्गणमा गत चैत ६ गते छलफल बसेको थियो ।
छलफलको क्रममा महिलाले आफूसँग युवकको सहमतिमै यौन सम्बन्ध बनाएको बताइन भने युवकले उनीसँग कुनै सम्बन्ध नबनाएको दाबी गर्दै आए । उनले भने, –“यदि मैले उनीसँग सम्बन्ध बनाएको छु भने ममाथि जाहेरी दियोस म कानुन बमोजिम सहुँला, तर त्यसअछि मेरो बच्चा उसको पेटमा छ भने डिएनए टेष्ट गर्न लगाऔँ । मेरो बच्चा ठहरिए म कानुनको सजाय भोग्न तयार छु ।”
वडाध्यक्ष दनुवारले महिला र युवकलाई कोठामा बन्द गरी आफ्नो मनमौजी हिसाबले पँचहरु छानेर राजनीतिक प्रतिशोध साधेको आरोप लगाइएको छ । कानुनी रुपमा पँचायत गैर–कानुनी मानिन्छ ।
सोही छलफलको क्रममा वडाध्यक्ष दनुवारले युवकपक्षलाई ७ लाख रुपैयाँ दण्ड जरिवाना सुनाएको बताइएको छ । गाउँस्तरमा पनि कानुनी रुपमा दण्ड जरिवाना गैर–कानुनी मानिएको छ ।
७ लाख रुपैयाँ जरिवाना गरेपछि युवक पक्षले सो निर्णय नमान्ने प्रतिक्रिया दिएको थियो । त्यसपछि वडाध्यक्ष दनुवारले त्यहाँस्थित मुस्लिम समुदायको माईजन मार्फत कपाली तमसुक बनाएको आरोप छ ।
कपाली तमसुक अनुसार, युवक पक्षले १५ दिनभित्र ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय गरेको बताइएको छ । युवकले देशमा कानुनी प्रक्रिया रहेको बताउँदै कानुनकै प्रक्रियाबाट जाने अठोट लिएपछि वडाध्यक्षले मान्छे लगाएर धम्काएको आरोप छ ।
यता, उक्त दण्ड जरिवानाको सम्बन्धमा वडाध्यक्ष दनुवारसँग प्रतिक्रिया लिँदा उनले महिलाको अर्को विहेको लागि ७ लाख रुपैयाँ खर्च वापत दण्ड गरेको प्रतिक्रिया दिए ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जीतेन्द्र कुमार बस्नेतले गाउँस्तरमा गरिएको दण्ड जरिवाना गैर कानुनी रहेको बताउँदै निवेदन दिए उनीहरुलाई कारवाही हुने बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषामा त्यस्तो कुनै उजुरी नआएको भन्दै उजुरी आए लगत्तै कारवाही थालिने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
केही महिनाअघि सिरहा जिल्लाको विष्णुपुरस्थित एक घटनालाई मिलाउन गाउँस्तरमा पँचहरुले जरिवाना गरेपछि पीडितको गुनासोको आधारमा ७ जना पँचहरुलाई पक्राउ गरेको थियो ।
जानकारी अनुसार, महिलाको श्रीमान विगत ५ महिनादेखि वैदेशिक रोजगारीमा गएका छन् भने महिलाको दुई वटा सन्तान रहेको छ । न्यूज ब्यूरो बाट