काठमाडौं- अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ ।
न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।



अदालतले पल पीडितले दिएको घटना विवरण कागज, पीडितको शारीरिक जाँच परीक्षण रिपोर्ट, घटना भएको दिन गत वैशाख १४ गते राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको हुँ भनी पल शाहले दिएको वयानलगायतलाई आधार मान्दा शाहले पीडितलाई जबर्जस्ती करणी गरेको देखिन आएको उल्लेख गरेको छ ।
‘‘ तत्काल प्राप्त प्रमाणका आधारमा विश्लेषण गर्दा प्रतिवादी पल शाह भन्ने पूर्णबिक्रम शाहले वर्ष १५ कि परिवर्तित नाम ०७८र०७९ ब्यास–१२ लाई ललाई फकाई विवाह गर्छु भनी प्रलोभन देखाई जबर्जस्ती करणी गरेको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई निज प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा ९१० को खण्ड ९ख० बमोजिम थुनामा राखी पुर्पक्ष गर्ने गरी रीतपूर्वक थुनुवा पूर्जी दिई कारागार कार्यालय, दमौली तनहुँमा पठाइदिनू’ आदेशमा भनिएको छ ।
अदालतले पल शाहले जबर्जस्ती करणी गरेको पूर्णतः अस्वीकार गरे पनि उनले गरेको वयान अनुसार घटना भएको दिन राति १२ बजेतिर पीडितको कोठामा प्रवेश गरेको स्वीकार गरेकाले जबर्जस्ती करणी गरेको तथ्यसँग मिलेको बताएको छ ।
पलले बयानमा घटना भएको दिन राति १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई स्वीकार गरेको आदेशमा उल्लेख छ ।
‘एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राति पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ति सोही राति निजले पीडितलाई जबर्जस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो’ आदेशमा भनिएको छ ।
शाहविरुद्ध १६ वर्षकी किशोरीलाई प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँले अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।
बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । पीडितले आफूमाथि पटकपटक करणी भएको बताएपछि उनका बाबुले पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ११ फागुनमा किटानी जाहेरी दिएका थिए ।
जाहेरी परेपछि केही दिन फरार भएका शाहले १५ फागुनमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । अनुसन्धान जारी रहँदा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, नवलपुरमा पनि सोही विषयमा जाहेरी परेको थियो ।
पललाई नवलपुर पुर्याएर बयान लिएको प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत ३ चैतमा मुद्दा दर्ता भएको थियो । तनहुँमा चाहिँ मंगलबार शाहविरुद्ध मुद्दा दर्ता भएको थियो ।
अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध जबर्जस्ती करणी मुद्दामा मतियार बनेको अभियोग दर्ता गरेको थियो ।




