जनकपुरधाम- ‘बल्ल पुरा हुने मेरो नेपाल कै रेलमा चढेर जयनगर घुम्न जाने सपना’ विगत तीन वर्ष देखि पटक पटक मिति तय भएर संचालन हुन नसक्दा निराश बनेका महोत्तरी विजलपुराका रामपुजन महराले अपार खुशीका साथ भने ।
आज रेल उद्घाटनको हुने सुनेर हेर्न जनकपुर रेल्वे स्टेशन पुगेका महराले आफू यस अघि पनि रेल चलिरहेको छ भनेर हेर्न कति पटक आए तर हेर्न नपाएको बताए । उनले फागुन महिना देखि यात्रु बिना ड्राय रन गरी रहेको रेल बारे सुनेर हेर्न आउने तर कति बजे रेल आउने र जाने गरेको बारे थाहा नहुँदा आएर रेल नै हेर्न नपाएर फर्केको तर आज आफू विहानै देखि रेल हेर्न आएको बताए।
उनि भोली देखि नियमित संचालन हुने रेल चढेर जयनगर घुमेर आउने बताए । उनले भने, ‘मैले सुनेको जनकपुर कुर्थाबाट एक पटक विहान जयनगर जान्छ र साँझ फेरि फर्किन्छ, म भोली विहान रेल चढेर जयनगर जान्छु र साँझ फर्किन्छु ।’ उनले आफू यस अघि कहिल्यै रेल नचढेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा आज भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै भोलिदेखि नियमित रेल सेवा सञ्चालन हुँदैछ। दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।

आइतबारदेखि नै तालिका अनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए । उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ । जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने उनले जानकारी दिए । ’आइतबारबाट नै नियमित रुपमा रेल चलाउन हाम्रो तयारी पूरा भइसकेको छ’ उनले भने ।
यसरी दैनिक बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल छुट्ने रेल बिहान १० बजे कुर्था स्टेशन पुग्नेछ र पौने ११ बजे जनकपुरधामको कुर्थाबाट जयनगरका लागि चल्ने रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले बताए ।
जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको महाप्रबन्धक झाको भनाइ छ ।
रेलमा चढ्न पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने
जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुलाई आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ । खुल्ला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी पहिचान खुल्ने कागजात अनिवार्य गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए ।
सुरक्षा र खुल्ला सीमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ ।
यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको नउले बताए । दशदेखि १८ वर्ष उमेरमुनिका बालबालिकाको हकमा विद्यालयको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नुपर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
https://www.facebook.com/shirishonline1/videos/293211352967129
त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले पनि भारत सरकारद्वारा जारी वैध राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र वा कुनै आइडी कार्ड अनिवार्य बोक्नु पर्ने छ।
कति छ रेल सेवाको भाडादर ?
जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको भाडादर कायम गरिएको छ । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु रु ९० र एसी सिटमा रु ४५० भाडा निर्धारण गरिएको छ । जयनगर–कुर्थासम्मको दूरी करिब ३५ किलोमिटर छ ।
कति छ रेलको यात्रु बोक्ने क्षमता
गत ०७७ असोज २ गते भारतीय कोकंण रेल्वे कम्पनीसँग रु ८४ करोड ६५ लाखमा खरिद गरेको रेलमा दुई सेट इन्जिन सहित १० वटा बोगी छन् । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ ।
दुवै बोगीले करिब एक हजार ५०० यात्रु बोक्ने क्षमता छ । यसको गति रेलको लिक डिजाइनअनुसार १०० किलोमिटर प्रतिघन्टा रहे पनि जयनगर–कुर्था रेल स्टेशनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति मात्रै चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो । डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि–पछाडि दुवै दिशातर्फ गुड्छ । अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ । यसको इन्जिन डिजेल र विद्युत् दुवै मार्फत सञ्चालन गर्न सकिन्छ । डिजेलले सञ्चालन हुने मेशिनले उत्पादन गरेको विद्युत मार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ ।
हाल ३५ किमी दुरीमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ । कुर्थाबाट बिजुलपुरासम्मको निर्माण झण्डै सकिएको र अबको दुईचार महिनामा रेल सञ्चालन गर्न सकिने महाप्रबन्धक झाले जानकारी दिए । ३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिने छ ।
एउटा स्टेशनबाट चार पाँच किलोमिटरमा अर्को स्टेशन आउँछ। यसको डिजाइन स्पिड यात्रुबाहक गाडीमा एक सय किमी प्रतिघण्टा रहेको छ । मालबाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए । उनले भने, ‘त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ।’ डेढवर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो। अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको हो ।
यता रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेको थियो ।
रेल सञ्चालन भएपछि आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा
जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै मधेस प्रदेशमा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न सहरमा नेपालीको सहज पहुँच हुनुको साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताए ।
रेल सेवा सञ्चालनसँगै नेपाली भारतको राजधानी दिल्ली, पटना, बनारस, कलकत्ता लगायतका सहरसम्म सहज यात्रा गर्न सकिने छन् भने दैनिक भारतीय पर्यटक नेपाल आउने अध्यक्ष महासेठले जनाए ।
रेल्वे सञ्चालन संगै भारतिय खाद्यान्न र सरसमानहरुको आयात सहज हुने र प्रति किलो खाद्यन्नको भाउमा करिव १० रुपैयाले सस्तो हुने विश्वास संघका अध्यक्ष जितेन्द्र महासेठको छ ।
यात्रुसँगै सामान पनि ढुवानी गर्नुपर्ने उनको माग छ । अध्यक्ष महासेठ भन्छन् ‘दक्षिण भारतबाट ट्रकमा चामल आयात गर्दा प्रतिकिलो १६ रुपैयाँ ढुवानी खर्च लाग्छ तर रेल मार्गबाट ल्याउँदा प्रतिकिलो ५ वा ६ रुपैयाँ मात्र पर्छ ।’
यस्तो छ नेपालमा रेल्वेको इतिहास
वि. सं. १९८४ (ई. १९२७) मा चन्द्र शमशेरको शासनकालमा स्थापित नेपाल गभर्मेन्ट रेलवे नेपालको पहिलो रेलवे सेवा हो। तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेलवे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तराईका यस भेकका मानिसले अमलेखगन्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्न पैदल यात्रा गर्थे । उक्त रेलसेवा विसं २०२२ मा बन्द भयो ।
नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रुपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो । दुवै रेल स्टिम (कोइलाबाट चल्ने) इन्जिनले सञ्चालन भइरहेको थियो ।
जयनगर–जनकपुर–बिजलपुरा रेलवे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो । उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा (बोगी) पनि बनाइएको थियो । यस क्षेत्रका जंगल मासिएपछि सोही रेल यात्रुवाहक रुपमा सञ्चालन हुन थाल्यो । सुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो ।
८ वर्ष अघिसम्म धनुषाको पूर्वी दक्षिणी भेगलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वी क्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एकमात्र भरपर्दो साधनका रुपमा उक्त रेलसेवा सञ्चालन भइरहेको थियो ।
तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर)मा सिमित हुन पुग्यो । नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भंगहा–बर्दीवास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भयो ।अहिले रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो ।
तस्बीरहरु: धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’& बिबेक कुमार महतो







