वीरगञ्ज- नेकपा एमाले अध्यक्ष केपी केपी ओलीले केही स्वार्थी मान्छेहरूले आफूलाई मधेशविरोधी भनेर हल्ला चलाएको आरोप लगाएका छन्।
तर आफू मधेशको मान्छे भएको उनको दाबी थियो। अध्यक्ष ओलीले मधेशमा भैंसीका पिठ्यूमा बसेको कसरी चराउनुपर्छ भन्ने आफूलाई थाहा भएको उल्लेख गर्दै सबैभन्दा सजिलो विकास गर्न मधेशमा रहेको पनि बताए।



मधेशमा पहाडमा जस्तो पहाड फोरेर सडक बनाउनुपर्ने अवस्था नरहेको उनले स्मरण गराए। अध्यक्ष ओलीले भने, “केपी ओली मधेश विरोध हो भनेर हल्ला चलाए, केही स्वार्थी मान्छेहरूले। म आफैं मधेशको मान्छे। ६० वर्षदेखि म मधेशको बासिन्दा हुँ। ६० वर्षदेखि मधेशमा बसेको छु। मलाई इनार कसरी खन्नुपर्छ भन्ने थाहा छ। भैंसीको पिठ्यूमा, राँगाको पिठ्यूमा बसेर कसरी चराउनुपर्छ भन्ने थाहा छ। म त्यो तराईको मान्छे हुँ। त्यसैकारण सबभन्दा बढि विकास गर्न सजिलो तराई मधेश हो भन्ने लाग्दछ। यहाँ पहाडमा जस्तो पहरा फोरेर सडक बनाउनु पर्दैन।”
यसैगरी केही दिनअघि एमालेमा प्रवेश गरेका वीरगञ्ज महानगरपालिका मेयर विजय कुमार सरावगीले अब मधेशलाई बेच्न छोड्न मधेशवादी दलहरूलाई चेतावनी दिए। उनले मधेशवादी दलका नेताहरूप्रति इंगित गर्दै अब मधेश र व्यापारीहरूलाई भजाउन सक्ने अवस्था नरहेको बताए। सरावगीले आगामी निर्वाचनमा मधेशको नाम भजाउनेहरूको हैसियत थाहा लाग्ने समेत बताए।
मेयर सरावगीले मधेशवादी दलहरूले मधेशको नाममा जहिले पनि आफ्नो दुनो मात्रै सोझ्याउने काम गरेको पटकपटक दोहोर्याए।-नेपालभ्युजबाट




