
जनकपुरधाम- आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी महोत्तरीमा २ हजार ४ सय ७६ जना र धनुषामा ३ हजार १ सय २१ जना म्यादी प्रहरी छनोट भएको छ।
धनुषामा ९ हजार २१ जनाले आवेदन दिएकोमा ३ हजार १सय २१ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । कूल आवेदकमध्ये ८७२ महिला र ८ हजार १४९ पुरुषले आवेदन दिएका थिए । म्यादी प्रहरीका लागि ८७२ जना महिलाको आवेदन परेकोमा ५३५ जनालाई छनोट गरिएको डिएसपी बस्नेतले जानकारी दिए ।
छनोट भएका २ हजार ५८६ पुरुष र ५३५ महिलालाई २८ चैतदेखि तालिममा सहभागी गराइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यसैगरी महोत्तरीमा ८ हजार ५५ जनाले आवेदन दिएकोमा २ दुई ४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
कूल आवेदन मध्ये ८ सय महिला र बाँकी पुरुषले आवेदन दिएका थिए ।
म्यादी प्रहरीका लागि ८ सय जना महिलाहरूको आवेदन दिएकोमा ४ सय ९८ जना महिलालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रकाश विष्टले जानकारी दिए।
छनोट भएका १९ सय ७८ जना पुरुष र ४ सय ९८ जना महिलालाई तालिममा सहभागी गराइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
म्यादी भर्नाका लागि प्रहरी प्रधान कार्यालयले १८ वर्षदेखि ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकको दरखास्त माग गरेको थियो । भर्नाको आवेदनका लागि चैत ६ देखि ११ गतेसम्मको समय दिइएको थियो ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्च वापत १ हजार र बिमा सुविधा समेत उपलब्ध गराइने छ ।