महोत्तरी - जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। सोही वडाका ६० वर्षीय बेचन राइनको साँझ करिब ७ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए।
उनीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गर्नुको आरोपमा धनुषा, जनकपुरधाम उपमहानगरपालिका–स्थित वेंगाशिवपुरका पप्पु भनिने अनिल मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागुऔषध सेवन गरी अचेत अवस्थामा रहेका मण्डललाई घटनास्थल नजिकैबाट नियन्त्रणमा लिइएको र प्रारम्भिक बयान तथा प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाइएको डीएसपी भट्टले बताए।
घटनाको विस्तृत तथ्यसम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




