महोत्तरी - महोत्तरीमा एक ६ वर्षीया बालिका माथि बलात्कार भएको छ। बलात्कार पीडित बालिकाको स्वास्थ्य अवस्था बिग्रिएको छ भने विपन्न परिवारको भएको हुँदा पैसाको अभावमा उपचार गराउन समेत असमर्थ भएका छन् ।
घटना बारे जानकारी प्राप्त भएपछि चैत २६ गते राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश संयोजक राजु पासवान नेतृत्वको टोलीले े स्थलगत अध्ययन गरी घटनाको बारेमा जानकारी लिएका छन् ।
रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नं. २ गैडाटार घर भई महोत्तरी जिल्ला रामगोपालपुर नगरपालिका वडा नं. ३ दोलाठी स्थित आरबी इट्टा भट्टामा मजदुरी गर्दै आएका एक मजदुर दम्पतीकी ६ वर्षीया छोरीलाई चैत १२ गते मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नं. ८ राइगाउँ घर भई रामगोपालपुर नगरपालिका वडा नं. ३ दोलाठी बस्ने २० वर्षीय राजेश लामाले बलात्कार गरेको थियो ।
बालिकामाथि चैत १२ बलात्कार भएपनि पीडित परिवारले चैत १६ गते मात्र घटनाका बारेमा बालिकाले बताएपछि थाहा पाएको पीडितका बुवाले बताए। पीडित बालिकालाई आमाले नुहाउन लाग्दा योनीमा दुःखेको बताएपछि घटना बारे थाहा पाएर प्रहरीलाई खबर गरेको थियो ।
आरोपित विरुद्ध चैत १६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएपनि बालिकाको उपचारका लागि रकम नभएका कारण औषधी उपचार गर्न नसकेको पीडित परिवारले टोलीसँगको कुराकानीमा दुःखेसो पोखे।
पीडित परिवारजनले बालिकाको स्वास्थ्य उपचारका लागि चैत २५ गते एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) जलेश्वरमा गएको तर ओसिएमसी बन्द रहेको हुँदा अस्पतालमा जाँदा औषधि खरिद गर्न भनेपछि आफूसँग औषधी खरिद गर्ने पैसा नभएर फर्किएको अनुगमन टोलीलाई बताए । पीडित बालिकाको योनिमा घाउँसमेत भई पानी बग्ने गरेकोले उपचारका लागि सहयोग लागि पीडित परिवारले अनुरोध गरे पछि इन्सेक मधेश प्रदेश कार्यालयले ५ हजार रुपियाँ उपचारको लागि सहयोग गरेको इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले बताए ।
घटना सन्दर्भमा महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाद पगेनीले बालिकालाई चैत १२ गते बलात्कार भएको उजुरी चैत १६ गते परे पछि आरोपितलाई चैत १७ गते साँझ हातिलेटबाट गिरफ्तार गरेको बताए । उनले घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान कार्य भइरहेको जनाए ।
उनले पीडित बालिकाको चैत १६ गते साँझ जिल्ला अस्पताल जलेश्वरमा स्वास्थ्य परीक्षण गरिएको बताए ।
घटनामा संलग्न दोषीलाई कारबाहीका लागि प्रभावकारी अनुसन्धान गर्न र पीडित बालिकाको उपचार तथा क्षतिपूर्तिका लागि पहल गर्न अनुगमन टोलीले एसपि पंगेनीलाई आग्रह गरेका थिए । पीडित परिवारलाई अन्तरिम क्षतिपूर्तिका लागि आजै पत्र मार्फत अनुरोध गरिने एसपी पगेनीले बताए।
आरोपित पक्षले अहिले दोषीलाई छुटाउन दवाव दिइ रहेको पीडित बालिकाका बुबाले बताए। हामीलाई न्याय चाहिएको छ, न्यायका लागि सहयोग गरिदिनु हुन स्थलगत अध्ययन टोलीलाई पीडीत परिवारले आग्रह गरे ।
पीडित बालिकाको स्वास्थ्य उपचार र मनोविमर्श आवश्यक रहेकोले त्यसको लागि सम्बन्धित निकायमा पहल गरिने राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले बताए ।
जिल्ला प्रहरी कार्यालयका एसपी पगेनीका अनुसार जिल्ला कारागार जलेश्वरमा ५ सय ९१ कैदी बन्दीमध्ये १ सय बलात्कार र ६ जना बलात्कार प्रयास मुद्दाका कैदी बन्दी रहेको स्थलगत अध्ययन टोलीसँगको कुराकानीमा बताए।