
जनकपुरधाम- वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेस प्रदेशका १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको छ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मधेस प्रदेशमा १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील, ८८८ संवेदनशील र २१२ केन्द्रलार्ई सामान्य मतदान केन्द्रको सूचिमा राखिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
अति संवेदनशील सूचिमा राखिएको मतदान केन्द्रहरु मध्येको धनुषामा १८३, महोत्तरीमा ११०, सप्तरीमा २०८, सिरहामा १७०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशील मानिएका छन् ।
त्यस्तै, सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ ।
त्यसैगरी सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदानस्थल सामान्य सूचीमा रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विगतको चुनावमा निर्वाचन बिथोलिएको र झडप समेत भएको मतदानस्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको मधेस प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) उमेश रञ्जितकारले जनाए ।
डीआइजी रञ्जितकारको अनुसार विगतमा भन्दा अहिले सुरक्षा चुनौती बढेको छ । उनले अहिले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा, जनमत पार्टी र स-साना समूहका कारण सुरक्षा थ्रेट रहेको बताए ।
डीआइजी रञ्जितकारले भने, ‘विप्लव नेतृत्वको नेकपाको गतिविधि र खुला सिमानाको कारण सुरक्षा चुनौती रहेकोले मधेसका धेरै मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको हो ।’
त्यस्तै सत्ता गठबन्धन र विपक्षी दलसँग हुन सक्ने अप्रत्याशित तथा सम्भावित झडपलाई समेत ‘सुरक्षा थ्रेट’को रूपमा विश्लेषण गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
डीआइजी रञ्जितकारले मधेस प्रदेशको सबै जिल्लामा खुला सिमानाका कारण र स-साना हातहतियारले सुरक्षा चुनौती रहेको बताए। उनले सुरक्षा चुनौतीलाई मध्ये नजर गर्दै सीमा क्षेत्रहरुमा निर्वाचनको ७२ घण्टा अघिदेखि नै पूणर्रूपले आवतजावत बन्द रहने गरि बोर्ड सिल गर्ने जनाए । उनले प्रदेशका सबै जिल्लाहरुमा प्रहरीले उच्च सतर्कताको साथ काम गरिरहेको बताए ।
मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० जना मतदाता कायम
स्थानीय तह निर्वाचनका लागि मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएका छन् ।
यस प्रदेशमा १७ लाख ९७ हजार ९४५ पुरुष, १५ लाख ३३ हजार १५८ महिला र अन्य ६६ गरी कूल ३३ लाख ३१ हजार १७० जना मतदाताले मतदान गर्न पाउने भएका छन् ।
प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए ।
सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।