
काठमाडौं- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गठबन्धनको नाममा मधेस प्रदेसमा कांग्रेसलाई सिध्याउने खेल भएको बताएका छन्।
आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले गरेको महानगर र उपमहानगरको भागबण्डप्रति आपत्ति जनाउँदै निधिले यस्तो बताएका हुन्।
‘मधेस प्रदेस जसपालाई सुम्पिनेगरी सहमति भएको छ। मधेस प्रदेसमा कांग्रेस सिध्याउने षडयन्त्र हो,’ आयोमेलसँग निधिले भने। मधेस प्रदेस जसपालाई सुम्पिनेगरी निर्णय भएको भन्दै उनले यस्तो निर्णयले आगामी चुनावमा देशभर कांग्रेसलाई कमजोर बनाउने जिकिर गरे।
निधिले महानगरपालिका र उपमहानगरपालिकामा गरिएको बाँडफाँड केन्द्रीय समितिको निर्णयविपरित रहेको बताए।
‘केन्द्रीय समितिले औचित्य र आवश्यक्ताको आधारमा तालमेल गर्ने निर्णय गरेको हो,’ उनले भने,‘केन्द्रीय समितिको निर्णयविपरित बाँडफाँड गर्ने काम भएको छ। देशभरका साथीहरूको भावनाविपरित भएको छ।’
निधिले महानगर र उपमहानगरको बाँडफाँडका लागि भएको निर्णय आत्मघाती रहेको जिकिर गरे। यस्तो आत्मघाती निर्णय नसच्याए भोलिको दिनमा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने उनले उल्लेख गरे।
‘यो आत्मघाती निर्णय हो, निर्णय नसच्चाए कांग्रेसले निकट भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ,’ अब के गर्नुहुन्छ प्रश्नको जवाफमा उनले भने,‘साथीहरूसँग छलफल भइरहेको छ। साथीहरूसँगको छलफलपछि उठाउनुुपर्ने कदमबारे निर्णय हुन्छ।’