जनकपुरधाम- स्थानीय तहको निर्वाचनको लागि जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदकामा मनोनयन दर्ताको पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म मेयरमा ८ जना लगायत कूल १२७ जनाले मनोनयन दर्ता गराएको जानकारी दिए ।
प्रमुख निर्वाचन अधिकृत प्याकुरेलका अनुसार पहिलो दिन साना दुई राजनीतिक दल र स्वतन्त्र गरी मेयर पदमा ८ जना र उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको छ।
जनकपुरधामको नगरप्रमुखमा पहिलो दिन जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डलको उम्मेदवारी परेको छ ।
त्यस्तै, स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत प्याकुरेल जानकारी दिए ।
त्यस्तै, उपप्रमुखमा जनमत पार्टीबाट संतोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बनिता यादव र उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
बाँकी ११६ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
त्यसैगरी उम्मेदवारी दर्ताको पहिलो दिन क्षिरेश्वरनाथ नगरपालिकाको उपमेयरमा २ जना र वडाअध्यक्षमा १२ जनाको उम्मेदवारी परेको छ ।
क्षिरेश्वरनाथ नगरपालिका उपमेयरको लागी उम्मेदवारी दर्ता गर्नेमा स्वतन्त्रबाट सुशिल कुमार चौधरी र अनितकुमार यादव रहेका छन् ।
त्यस्तै वडा नम्वर ९ वडाअध्यक्ष पदका लागी पहिलो नम्बरमा लोसपाबाट राम एकवाल चौधरीले उम्मेदवारी दिएका छन् भने वडा नम्बर ५ वडाअध्यक्ष पदका लागि स्वतन्त्रबाट सितेश कुमार झाले उम्मेदवारी दिएका छन् भने १३ जना विभिन्न वडासदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् ।