
जनकपुरधाम- जनकपुरधाम उपमहानगरको मेयरको टिकटको आश्वासन पाएर ६ दिनअघि नेकपा (एमाले) प्रवेश गरेका जानकीराम साहले पार्टी परित्याग गरेका छन्।
एमालेले जनकपुरको मेयरमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाएपछि साहले सोमबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
जनकपुर- ७ का वडाध्यक्षसमेत रहेका साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका थिए। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै निवासमा एमाले प्रवेश गराएका थिए।
ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने प्रतिवद्धता जनाएका थिए। ओलीबाट आश्वासन पाएका साहले केही समयअघि नै उपमहानगरका पाँच ठाउँमा सम्पर्क कार्यालय नै खोलेका थिए।
टिकट नपाएपछि अहिले साह तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) वा स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिने तयारीमा छन् । नवगठित तराई मधेस लोकतान्त्रिक पार्टीबाट समेत उनलाई मेयरको टिकटको अफर गरिएको छ।
'साथीहरूसँग सल्लाह गर्दैछु, तराई मधेश लोकतान्त्रिक पार्टी वा स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिने सोचेको छु,' उनले भने ।