जनकपुरधाम – स्थानीयतह निर्वाचनकाे लागि जनकपुरधाम उपमहानगरपालिकामा विभिनन १ सय २७ पदका लागि ५ सय २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि नगरप्रमुखमा २६ र उपप्रमुखमा २५ जनाले मनोनयन दर्ता गराएका छन् । वडाध्यक्षमा १ सय ७०ले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै वडा सदस्यमा १ सय ७६, महिला सदस्यमा ७५ र दलित महिला सदस्यमा ५७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।



सत्तारूढ गठबन्धनका तर्फबाट मेयर पदका लागि पुनः लालकिशोर साहले उम्मेदवारी दिएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मेयरमा मनोज चौधरीले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट मेयरमा शिवशंकर साह (हीरा)को उम्मेदवारी परेको छ भने तराई मधेश लोकतान्त्रिक पार्टीबाट विभा ठाकुरले नगरप्रमुखका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।
त्यस्तै, नेपाल जनता पार्टीबाट मेयरमा मुरली मनोहर मिश्रले उम्मेदवारी दिएका छन् भने जनकपुरधामको मेयर पद मै नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी हुन् । जनमत पार्टीबाट मेयरमा अनिता देवी साहको उम्मेदवारी परेको छ ।
करिब ५ दिन अगाडि नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले पनि एमाले परित्याग गरी मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने मेयर पदमै स्वतन्त्र तर्फ कांग्रेसबाट राजीनामा दिएका मनोज साह, बलराम महतो, वैद्यनाथ साह, श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार, सुधिर कुमार महतो लगायत २६ जनाको स्वतन्त्र उम्मेदवारी परेको हो ।
उपमेयरमा सत्ता गठबन्धनबाट किशोरी साहले मनोनयन दर्ता गराएका छन् भने लोसपाबाट रिता कुमारी मिश्रले उम्मेदवारी दिएकी छन् । उपमेयरमै नेपाली कांग्रेस परित्याग गरी सोमबार मात्रै एमालेमा प्रवेश गरेकी रुना झाले मनोनयन दर्ता गरेकी हुन् । उपमेयरमै युवा नेता सरोज कुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने नेपाल जनता पार्टीबाट उपमेयरमा बन्दना पाण्डेये उम्मेदवारी दिएका छन्। जनमत पार्टीबाट भने उपमेयरमा संतोष कुमार साहले मनोनयन दर्ता गराएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीबाट इश्वर पण्डितले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् । यसअघि नेकपा एमालेले मेयर पदको टिकट नदिँदा बागी बनेर उमेश चौधरी र कुमारी बनिता यादवले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराइसकेका छन् भने कांग्रेसले टिकट नदिँदा निर्मल कुमार चौधरी लगायत २५ जना उपमेयरको उम्मेदवार छन् ।
निर्वाचन आयोगले आइतबार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । धनुषा जिल्लामा राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता भएका छन् ।
यो पटक धनुषामा मतदानस्थल घटेका छन् भने मतदान केन्द्र बढेका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३ सय २७ मतदानस्थल र ५ सय ४८ मतदान केन्द्र थिए । यसपटक मतदानस्थल घटेर ३२३ पुगेको छ भने मतदान केन्द्र बढेर ५ सय ९६ पुगेको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिए । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा धनुषामा ४ लाख ६७ हजार ३२८ जना मतदाता रहेका छन् ।




