जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले दीपावली, भ्रातृद्वितीया, छठ तथा सामाचकेवा पर्वले समाजमा प्रेम, सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको भावना थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
मौलिक सांस्कृतिक पर्वहरूले नेपाली समाजमा सुख, शान्ति, समृद्धि र नयाँ उत्साहको सञ्चार गर्ने उल्लेख गर्दै प्रदेश प्रमुख कर्णले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा पर्वहरूको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।



शुभकामना सन्देश जारी गर्दै उनले दीपावलीले अन्धकारमाथि प्रकाश र निराशामाथि आशाको विजयको सन्देश दिने विश्वास व्यक्त गरे ।
त्यस्तै, भ्रातृद्वितीयाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता प्रगाढ बनाउने तथा छठ पर्वले प्रकृति र जीवनप्रतिको श्रद्धा एवं कृतज्ञताको भावना अभिवृद्धि गर्ने उनको भनाइ छ ।
यसैगरी, सामाचकेवा पर्वले पारिवारिक सम्बन्ध, सामाजिक सद्भाव र समृद्ध लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने प्रदेश प्रमुख कर्णले उल्लेख गरे ।
विविधता, सहिष्णुता र पारस्परिक सम्मानमा आधारित सामाजिक एकतालाई थप मजबुत बनाउन यस्ता सांस्कृतिक पर्वको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।
पर्वहरूले मधेश प्रदेशसहित समग्र मुलुकमा शान्ति, सुशासन, समृद्धि र भाइचाराको भावना विस्तार गर्न प्रेरणा दिने उनले विश्वास व्यक्त गरे ।
प्रदेश प्रमुख कर्णले नेपालीका अमूल्य सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गर्दै उज्ज्वल भविष्य निर्माणका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्नसमेत आह्वान गरेका छन् ।
उनले शनिबार जारी गरेको शुभकामना सन्देशमा पुनः सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।





