औरही,महोत्तरी – इँटा उत्पादनको चरम सिजनमै परेको बेमौसमी वर्षाले महोत्तरीका इँटा उद्योगहरू गम्भीर संकटमा परेका छन्। शुक्रबार साँझदेखि लगातार परेको वर्षाका कारण पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा गलेर नष्ट हुँदा जिल्लाभरका व्यवसायीहरूले करोडौँ रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ।

इँटा उद्योग व्यवसायी संघ महोत्तरीका अनुसार जिल्लामा सञ्चालित करिब ३५–३६ वटा भट्टामा गरी ६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। माघ, फागुन र चैत महिनालाई इँटा उत्पादनका लागि सबैभन्दा अनुकूल समय मानिन्छ। सामान्यतया यस अवधिमा वर्षा नपर्ने भएकाले उद्योगीहरूले ठूलो परिमाणमा इँटा उत्पादन गर्ने गर्छन्। तर यस वर्षको आकस्मिक वर्षाले सुकाएर राखिएका अधिकांश काँचो इँटा पूर्ण रूपमा नष्ट गरेको छ।




रामगोपालपुर नगरपालिका–७ स्थित रोयल स्टार इँटा उद्योगका सञ्चालक तथा संघका अध्यक्ष संजय चौधरीका अनुसार एउटा भट्टामै करिब २० लाख रुपैयाँसम्मको क्षति पुगेको छ। “वर्षभरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको इँटा एकैपटक पानीले बगाउँदा उद्योगीहरू गम्भीर आर्थिक संकटमा परेका छन्,” उनले बताउनुभयो।
औरही नगरपालिका–२ मा रहेको न्यु बाबा इँटा उद्योगका सञ्चालक हरिनारायण यादवका अनुसार करिब ८ लाख रुपैयाँ बराबरको इँटा नष्ट भएको छ। त्यस्तै, औरही–७ स्थित न्यु मिथिला इँटा उद्योगमा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक रामबाबु चौधरीले जानकारी दिनुभयो। “वर्षदिनको मेहनत एकै झट्कामा नष्ट भएको छ, अब आगामी उत्पादन चक्रसमेत प्रभावित हुने देखिन्छ,” उनले भन्नुभयो।

व्यवसायीहरूका अनुसार काँचो इँटा खुला आकाशमुनि सुकाइने भएकाले यस्ता प्राकृतिक विपद्बाट जोगिन कठिन हुने गर्दछ। अझै काँचो इँटाको बीमा व्यवस्था नभएकाले सम्पूर्ण जोखिम उद्योगीहरूले नै व्यहोर्नुपरेको छ। संघका अध्यक्ष चौधरीले बीमा कम्पनीहरूले कच्चा पदार्थका रूपमा रहेको इँटालाई बीमामा समेट्न नसकिने बताउँदै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले संघीय तथा प्रदेश सरकारले राहत र दीर्घकालीन नीति ल्याउनुपर्ने माग गर्नुभयो।
महोत्तरीका औरही, रामगोपालपुर, गौशाला, सम्सी, बलवालगायत क्षेत्रमा इँटा उद्योगहरू केन्द्रित छन्। यहाँ भारतका विभिन्न स्थान—सितामढी, दरभंगा तथा उत्तर प्रदेश—बाट श्रमिक ल्याइने गरिन्छ, जसलाई प्रतिइँटा एक रुपैयाँ ५० पैसाका दरले ज्याला दिइन्छ। उत्पादनमै ठूलो क्षति भएपछि श्रमिक व्यवस्थापनदेखि उद्योग सञ्चालनसम्म थप चुनौती उत्पन्न भएको छ।

व्यवसायीहरूका अनुसार यसपटकको क्षतिले आगामी दिनमा इँटाको उत्पादन घट्ने निश्चितजस्तै छ। उत्पादनमा गिरावट आएसँगै बजारमा अभाव सिर्जना भई मूल्य वृद्धि हुने संकेत देखिएको छ। “काँचो इँटा नै नष्ट भएपछि मागअनुसार आपूर्ति गर्न सकिँदैन, जसले मूल्य बढाउनेछ,” अध्यक्ष चौधरीले बताउनुभयो।
असामयिक वर्षाले निम्त्याएको यो संकटले उद्योगीहरू मात्र होइन, समग्र निर्माण क्षेत्रलाई समेत प्रभावित पार्ने देखिएको छ। समयमै राहत तथा नीतिगत समाधान नआएमा यसको असर अझ गहिरिँदै जाने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्।



























