काठमाडौं : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरू पनि प्रतिस्पर्धामा छन् । देशभरिका सात सय ५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् ।
मेघा टेलिभिजनका समाचार प्रमुख रोशन दानीले काठमाडौँको चन्द्रागिरि नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चामा आबद्ध दानीले पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् ।



नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शान्ता आङबुहाङले महासङ्घको केन्द्रीय सदस्यबाट राजीनामा दिएर ताप्लेजुङको आठराई त्रिवेशी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् । अर्घाखाँचीको सूर्योदय एफएममा कार्यरत पत्रकार अयान विकले अर्घाखाँचीको शीतगङ्गा–१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सुदूरपश्चिमबाट कैलालीको जानकी गाउँपालिकाको उपाध्यक्षमा गीता चौधरीले उम्मेदवारी दिएकी छन् । रेडियो नेपाल सुदूरपश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा विगत लामो समयदेखि कार्यरत पत्रकार सुनिता रावलले डोटीको शिखर नगरपालिकाकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छन् ।
प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईँले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
चौतारीका पूर्वउपाध्यक्ष वीरबहादुर गिरीले जाजरकोटको बारेकोट गाउँपालिकाको अध्यक्ष पदमा, म्याग्दीका संस्थापक सुरत केसी, बेनी नगरपालिकाको प्रमुख, काभ्रे जिल्लाका पूर्वाध्यक्ष कञ्चन अधिकारी पाँचखाल नगरपालिकाको प्रमुख, बाजुराका संस्थापक सदस्य अमर खड्का बाजुराको बढीमालिका नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी बाजुराकी पत्रकार नन्दा थापा उपप्रमुखमा, मोरङका पत्रकार भक्त राई सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्ष, गायत्री आचार्य मेलुङ गाउँपालिकाको उपाध्यक्ष र सकिल खान डुडुवा गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
सप्तरी जिल्लाका चार जना पत्रकार पनि स्थानीय तहको निर्वाचनमा होमिएका छन् । पत्रकार महासङ्घ मधेस प्रदेशका सचिव भोला पासवान जनता समाजवादी पार्टी नेपालका तर्फबाट सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार छन् ।
तिलाठी कोइलाडी गाउँपालिकाको उपाध्यक्षमा जनता प्रगतिशील पार्टीका तर्फबाट पत्रकार हेमशङ्कर सिंह, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट राजविराज–८ को वडाध्यक्षमा पत्रकार शतिश दत्त, पत्रकार महासङ्घ सप्तरीका सहसचिव चन्दनकुमार यादवले नेकपा (माओवादी केन्द्र) का तर्फबाट सोमवार उम्मेदवारी दिएका छन् ।
यसैगरी नेकपा (माओवादी केन्द्र)का तर्फबाट कमलेश मण्डल महोत्तरीको मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गिरिश गिरीले उम्मेदवारी दर्ता गराए । यी लगायत विभिन्न जिल्लामा थुप्रै पत्रकारले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बताइएको छ ।
महासङ्घका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरू उम्मेदवार बनेमा महासङ्घको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुने महासङ्घले जनाएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न महासङ्घका महासचिव रोशन पुरीले आह्वान गरेका थिए ।




