
सर्लाही । आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।
दुई देशका सुरक्षा अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।
महोत्तरी जिल्ला स्थित बर्दिबासमा आज(मंगलबार) बसेको दुई देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
खुल्ला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय भएको प्रजिअ गौतमले बताए । बैठकमा खुला सीमानाकाका कारण हुनसक्ने चोरी,तश्करी नियन्त्रण,लागुऔषध तथा मदिराको ओसारपसार नियन्त्रण,सूचना आदान प्रदान,अवैध मुद्राको कारोबार नियन्त्रण तथा नेपालमा हुन लागेको स्थानीय तह निर्वाचन २०७९ मा सुरक्षा संबेदनसिलताको विषयमा छलफल भएको प्रजिअ गौतमले जानकारी दिए।
बैठकमा सर्लाही तर्फबाट प्रजिअ गौतमको नेतृत्वमा महोत्तरी र रौतहटका प्रजिअ,सहायक प्रजिअ,तिनवटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरु,जिल्ला भन्सार कार्यालयका प्रमुख र भारतको तर्फबाट सितामढी जिल्लाका मुख्य जिलाधिकारीको नेतृत्वमा पुलिस प्रमुख,भन्सार प्रमुख तथा सिमा सुरक्षा बल(एसएसबी)का अधिकारीहरुको उपस्थिति रहेको थियो ।