राकेश यादव (औरही,महोत्तरी) - गत भदौ २३ र २४ मा देखिएको जेन–जी आन्दोलन र त्यसपछिको राजनीतिक परिघटनाक्रमको पृष्ठभूमिमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गएको छ। संसद् विघटनपछि राष्ट्रपतिबाट निर्वाचनका लागि छ महिने कार्यादेश प्राप्त सरकारले चुनाव केन्द्रित तयारी तीव्र बनाएको छ।
निर्वाचन हुने सुनिश्चित भएपछि अन्तरिम सरकारका चार मन्त्रीले राजीनामा दिई उम्मेदवारी दर्ता गराइसकेका छन्। निर्वाचन आयोगमा दल दर्ता, समानुपातिक सूची बुझाउने तथा प्रत्यक्षतर्फ दलिय र स्वतन्त्र उम्मेदवारहरूको दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ। दलहरू घरदैलो अभियानमा सक्रिय छन् भने सभा, सम्मेलन र चुनावी घोषणापत्र तयारी तीव्र बन्दै गएको छ। देशभर चुनावी माहौल व्यापक रूपमा फैलिँदै गएको देखिन्छ।
चुनावी गतिविधि बढेसँगै उपभोक्ता बजारमा पनि चहलपहल बढेको छ। विभिन्न अनुमानअनुसार निर्वाचन प्रयोजनमा करिब एक खर्ब रुपैयाँ बराबरको खर्च हुने आँकलन गरिएको छ, जसले अर्थतन्त्रमा अस्थायी चलायमानता ल्याउने अपेक्षा गरिएको छ।
यही पृष्ठभूमिमा सेयर बजारले समेत सकारात्मक संकेत देखाएको छ। पुँजीवादी आर्थिक नीति अवलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीलगायत नयाँ राजनीतिक शक्तिहरूको प्रभाव बढ्दै जाँदा सेयर बजारले ‘ग्रिन सिग्नल’ दिनु स्वाभाविक देखिएको छ। माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सम्पन्न भएसँगै सेयर बजार परिसूचक एकैदिन ४२ अङ्कले बढेको थियो।
निर्वाचन आयोगले मतपत्र छपाइ अन्तिम चरणमा पुर्याएको छ भने म्यादी प्रहरी भर्ना प्रक्रिया पूरा भइसकेको छ। माघको दोस्रो सातादेखि चुनावी सुरक्षाका लागि नेपाली सेना परिचालन हुने तयारी गरिएको छ। दातृ निकायहरूले पनि निर्वाचन प्रयोजनका लागि आवश्यक सहयोग उपलब्ध गराउन थालेका छन्। आयोगले चुनावी तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
विश्लेषकहरूका अनुसार फागुन २१ को निर्वाचन जेन–जी आन्दोलनबाट उत्पन्न राजनीतिक चेतनाको परिणाम हो। कुशासन, भ्रष्टाचार र परम्परागत राजनीतिक शक्तिको वर्चस्वविरुद्ध उठेको असन्तोषले नयाँ दलप्रति जनआकर्षण बढाएको देखिन्छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग जोडिएको राष्ट्रिय स्वतन्त्र पार्टी, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टीलगायत नयाँ शक्तिहरूको प्रभाव विस्तार भइरहेको बताइन्छ।
यद्यपि, पुराना तथा सांगठनिक रूपमा बलिया दलहरू कमजोर भइसकेका भने छैनन्। मिश्रित निर्वाचन प्रणालीका कारण कुनै एक दलले स्पष्ट बहुमत ल्याउने सम्भावना कम देखिएको विश्लेषण छ।
यसअघि बालेन शाह र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिँदा सेयर बजारमा उल्लेख्य वृद्धि देखिएको उदाहरण दिँदै लगानीकर्ताहरूले नयाँ राजनीतिक शक्तिप्रति बजारको सकारात्मक धारणा रहेको बताउँदै आएका छन्। ती दलहरूको आर्थिक दृष्टिकोण उदारवादी तथा निजी क्षेत्रमैत्री भएकाले बजार अनुकूल वातावरण बन्ने अपेक्षा गरिएको छ।
इतिहासतर्फ हेर्दा २०६४ सालको निर्वाचनमा माओवादी केन्द्रको प्रभाव बढ्दा सेयर बजारमा गिरावट आएको थियो। सो समयमा अर्थनीतिसम्बन्धी अभिव्यक्तिले बजारको मनोविज्ञान नकारात्मक बनेको उदाहरण पनि स्मरणीय छ। तर पछिल्ला वर्षहरूमा कम्युनिष्ट भनिने दलहरू समेत व्यवहारमा उदार अर्थनीतितर्फ उन्मुख हुँदै आएका छन्।
हालको अवस्थामा सेयर बजार दलीय नामभन्दा पनि नीति, नेतृत्व र स्थायित्वप्रति बढी संवेदनशील देखिन्छ। पुराना अनुहार दोहोरिने हो कि भन्ने आशङ्का कायमै रहे पनि प्रमुख दलहरूमा युवा नेतृत्व अघि सारिएको छ। नेपाली कांग्रेसले गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ भने अन्य दलहरूमा पनि युवाको उपस्थिति उल्लेख्य देखिन्छ।
जेन–जी आन्दोलनको पृष्ठभूमिमा नयाँ सोच र युवा नेतृत्वको खोजी भइरहेको वर्तमान राजनीतिक माहौलले आगामी दिनमा सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा र नयाँ शक्तिहरूको प्रभाव बढ्दै जाँदा बजार थप उत्साहित हुन सक्ने विश्लेषकहरूको भनाइ छ।




