महोत्तरी - बर्दिवास नगरपालिका व्यापार, शिक्षा र पर्यटनसँगै साहित्यिक गतिविधिमा पनि सक्रिय बन्दै गएको छ। यही क्रममा स्थानीय कवि तथा सामाजिक व्यक्तित्व जमुना पोखरेलको कविता सङ्ग्रह ‘शान्तिको दीप’ को विमोचन गरिएको छ।जानकी नारी समाज, महोत्तरीको आयोजनामा बर्दिवास उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाकी अध्यक्ष वरिष्ठ साहित्यकार मञ्जु मञ्जुभाषिणीको सभापतित्व रहेको थियो।
सभापतित्व मन्तव्यका क्रममा अध्यक्ष मञ्जुभाषिणीले साहित्यले समाजमा शान्ति, सहिष्णुता र मानवीय मूल्य प्रवर्द्धन गर्ने बताइन्। कविता केवल शब्दको संयोजन मात्र नभई समाज रूपान्तरणको सशक्त माध्यम भएको उल्लेख गर्दै उनले ‘शान्तिको दीप’ ले वर्तमान अशान्त समयलाई उज्यालोतर्फ डोर्याउने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा गौशाला साहित्य समाजका सल्लाहकार गोपाल यादवले कृतिमाथि समीक्षा प्रस्तुत गर्दै ‘शान्तिको दीप’ समकालीन समाजका पीडा, द्वन्द्व र आशालाई सन्तुलित रूपमा उजागर गर्ने कृति भएको बताए। सरल भाषा, संवेदनशील भाव र सामाजिक यथार्थको प्रभावकारी संयोजनले कृतिलाई सशक्त बनाएको उनको भनाइ थियो।कार्यक्रममा कमला कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।
विमोचन कार्यक्रममा कमला साहित्य कला समाज, गोडरका अध्यक्ष गणेश तिमल्सिना, लेखनाथ स्मृति सदन धनुषाका अध्यक्ष जनक पौडेल, जानकी नारी समाजकी सल्लाहकार सरिता ढुङ्गाना, बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष भोला खड्का, देवी घिमिरे, जया ढकाल, लिलामणि आचार्य, शर्मिला पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कवि पोखरेलकी माता हर्कमाया वस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तीन दर्जनभन्दा बढी साहित्यानुरागीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन जानकी साहित्य मञ्च महोत्तरीका सचिव तथा साहित्यकार सुरेन्द्र पोखरेलले गरेका थिए।




