बाँके । स्थानीय तह निर्वाचनमा दलका शीर्ष नेताले आफन्तलाई टिकट दिएको चर्चा भइरहँदा एकाघरका सदस्यहरूसमेत फरकफरक पार्टीबाट एउटै पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । नेपालगंज उपमहानगरपालिका– १ मा फरकफरक पार्टीबाट दाजुभाइ प्रतिस्पर्धामा उत्रिएका छन् ।
सो वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका तर्फबाट विनोद रिजाल र नेकपा एमालेका तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका विनोद तरुण दल बाँकेका सचिव हुन् । उनी २०४६ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका थिए । विनोदका भाइ प्रमोद पनि निर्वाचनमा प्रतिस्पर्धामा छन्। उनी बहालवाला वडा अध्यक्ष हुन् । दाजुसँग प्रतिस्पर्धा गर्न राजीनामा दिएर मनोनयन गरेका उनी प्रचारमा जुटिसकेका छन्।



जनप्रतिनिधि बन्नुअघि उनी कानुन व्यवसायमा थिए । बाँकेकै कोहलपुर नगरपालिकामा पनि यस पटक दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं।(३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ।माधव २०७४ सालमा निर्वाचित वडा अध्यक्ष हुन्। अघिल्लो पटक पनि उनले दाजु तारकेश्वरलाई झिनो मतले पराजित गरेका थिए। माधव एमालेबाट र तारकेश्वर नेकपा ९माओवादी केन्द्र०बाट वडा अध्यक्षका उम्मेदवार बनेका छन्। उता, बाजुराको बडिमालिका नगरपालिका– २ को वडा अध्यक्ष पदमा ज्वाइँ–जेठानबीच रोचक प्रतिस्पर्धा हुने भएको छ।
जेठान गोपालबहादुर कार्की नेपाली कांग्रेसबाट र ज्वाइँ डम्मरबहादुर महत नेकपा एमालेबाट उम्मेदवार बनेका छन्। २०७४ सालको स्थानीय चुनावमा पनि यी ज्वाइँ–जेठान आमने–सामने थिए । त्यसबेला ज्वाइँसँग जेठान ६ मतले हारे । यस पटक जेठान नाताका कार्की आफ्नै ज्वाइँलाई हराएर वडा हाँक्ने दाउमा छन् । कार्कीकी बहिनी र महतका भाइबीच वैवाहिक सम्बन्ध छ। ६ मतले हारे पनि जेठानले ज्वाइँविरुद्ध मुद्दासमेत दायर गरेका थिए । पराजित कार्कीले पुन: मत गणनाको माग राख्दै उच्च अदालत दिपायलमा मुद्दा दायर गरेका थिए ।
उच्च अदालतले मुद्दा खारेज गरेको थियो। डोल्पाको ठूलीभेरी नगरपालिका–२ मा यस पटक पनि बाबुछोराबीच वडा अध्यक्षका लागि रोचक भिडन्त हुँदै छ। एमालेबाट देवी रोकाया र माओवादी केन्द्रका तर्फबाट उनका जेठा छोरा मानबहादुरले टिकट पाएका छन् । २०७४ सालमा देवीले छोरा मानबहादुरलाई पराजित गरेका थिए।




