जनकपुरधाम- स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जनकपुरधामका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । धनुषा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरे अनुसार नेपाली कांग्रेसबाट बागी भएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका मनोज साहले ‘घण्टाघर’ चुनाव चिह्न पाएका छन् ।
सत्ता गठबन्धनमा जनकपुरधाम जनता समाजवादी पार्टीको भागमा परेपछि कांग्रेसका नगर सभापति समेत रहेका साहले पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले जनकपुरधामको जनतालाई सहि समयमा सहि निर्णय लिने स्वरुप ‘घण्टाघर’ चुनाव चिह्न पाएकोलाई राम्रो संकेत देखिएको बताए ।
यस्तै, निर्माण व्यवसायी बलराम महतोले निर्वाचन चिह्न ‘आँप’ पाएका छन् । उनले अहिले आँपको सिजन पनि सुरु भएको बेला चुनाव चिह्न आँप पाएकोलाई शुभ संकेतको रुपमा लिएको र अब निर्वाचन प्रचार प्रसारमा लाग्ने बताए ।
त्यस्तै, टिकटको लागि लोकतान्त्रिक समाजवादी पार्टीबाट एमाले प्रवेश गरेपनि एमालेबाट टिकट नपाउँदा स्वतन्त्र उम्मेदवारी दिएका जानकीराम साहलाई चुनाव चिन्ह ‘लालटिन’ दिएको छ ।
जानकीरामले उज्यालोको प्रतिकको रुपमा चुनाव चिन्ह पाइसकेकाले अब घरदैलो कार्यक्रमलाई तीव्रता दिने बताए ।
त्यस्तै, उपमेयर पदमा कांग्रेसका बागी उम्मेदवार निर्मल चौधरीले ‘आँप’ चुनाव चिन्ह पाएका छन् भने नेकपा एमालेका बागी उम्मेदवार उमेश चौधरीले चुनाव चिन्ह ‘कर्क’ छाप पाएका छन् ।




