महोत्तरी। आउँदो बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पार्टीको तर्फबाट महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा मेयरका उम्मेदवार हुनुभएको राम आधार कापरले आइतबार आफ्ना ४३ बुँदे चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ ।सदरमुकाम जलेश्वरमा अवस्थित नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै मेयरका उम्मेदवार कापरले आफ्नो ४३ बुँदे प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो ।
प्रतिज्ञापत्रमा उहाँले आफूले आउँदो निर्वाचनमा आफूले जित हासिल गरेमा जलेश्वरलाई नयाँ स्वरुप दिने, देश र विदेमा चिनिने नगर बनाउने तथा जलेश्वरको चौतर्फी विकासलाई नयाँ आयाम प्रदान गर्ने उल्लेख गर्नुभएको छ ।
जलेश्वर नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, सुशासन र सामाजिक न्याय, गरीब, असहाय परिवारलाई आवासको व्यवस्था, सडक एवं यातायात, उद्योग, ज्येष्ठ नागरिक, युवा, पर्यटन लगायतका क्षेत्रहरुमा उल्लेखनिय विकास गर्ने प्रतिबद्धता जाहेर गर्नुहुँदै उहाँले आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न आव्हान गर्नुभएको हो ।उहाँले आफ्नो व्यक्तिगत कुनै पनि स्वार्थ नरहेको कारण जनताको पैसाले जनताको चाहना बमोजिम जनताकै विकास गर्ने तथा जलेश्वरलाई स्मार्ट सिटी निर्माणको लागि आवश्यक कदम उठाउने प्रतिज्ञापत्रमा उल्लेख गर्नुभएको हो ।
जलेश्वर नगरपालिकामा महादेव मन्दिरलाई पर्यटक स्थलको रुपमा विकास गर्ने, प्रत्येक दिन भजन किर्तन र जोगी सन्यासी तथा गरीब असहायलाई सधैं निःशुल्क भोजन, बरुण सरोवरमा वाटर फल निर्माण, पर्यटकलाई विश्रामको लागि सुविधा सम्पन्न धर्मशाला र जानकीको नगरी जनकपुरमा आउने पर्यटकलाई अनिवार्य रुपमा जलेश्वरनाथको दर्शन गर्ने अवस्था सिर्जना गर्ने समेत प्रतिज्ञा पत्रमा उल्लेख छ ।
त्यस्तै जनताको सिफारिसमा कुनै शुल्न नलाग्ने, सबै करको दायिरा कम गरी जनतालाई उचित शुल्क मात्रै तिर्नुपर्ने व्यवस्था बनाउने, वैदेशिक रोजगारीमा जानेलाई सहयोग गर्ने लगायतका करीब ४ दर्जन प्रतिबद्धता सहितको प्रतिज्ञापत्र जारी गर्नुहुँदै नेता कापरले जलेश्वरका जनतालाई आफ्नो मत दिन आग्रह गर्नुभयो ।