महोत्तरी – महोत्तरीको सम्सी गाँउपालिकाका निर्वाचन कार्यक्रम पुनः दोहाराउने भएको छ।
निर्वाचन आयोगले सम्सीमा कायम रहेको विवादलाई साम्य पार्नका लागि निर्वाचन अधिकृत फेर्दै सो पालिकामा निर्वाचन कार्यक्रमहरु पुनः दोहोेर्याउने भएको हो।



निर्वाचन अधिकृत विनोद कुमार दाहालका अनुसार निर्वाचन आयोगले संशोधन कार्यक्रम सहित निर्वाचन गतिविधी गर्नका लागि निर्देशन दिईएकोले सोही अनुसार यहाँ कार्यक्रम संचालन हुने जानकारी दिएका छन्।
निर्वाचन अधिकृत दाहालले भने, ‘यसभन्दा अघिका निर्वाचन अधिकृत दिलीपकुमार प्रधानले कार्यसम्पादन गर्ने क्रममा विवाद सिर्जना भएपछि कार्यक्रम फेरिएको हो। अब सम्सी पालिकाको हकमा नयाँ कार्यतालिका प्रकाशन भएको छ। जस अनुसार भोलि सोमबार दोस्रो पटक मनोनयन जाँच गर्ने, उजुरीउपर जाँचबुझ गरी निर्णय गरिने भएको छ।
त्यस्तै सोही दिन दाबी विरोधको छानबिन गरिएपछि अन्तिम नामावली प्रकाशन गरिनेछ। अनि वैशाख २१ गते मंगलबार चुनाव चिन्ह प्रदान गरिनेछ।’
निर्वाचन आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्सी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत उपसचिव दिलीप प्रधानलाई फिर्ता पठाइएको हो। प्रधानको ठाउँमा निर्वाचन अधिकृत विनोदकुमार दाहाललाई खटाइएको छ।
यसअघिका निर्वाचन अधिकृत प्रधानले माओवादी केन्द्रका दुई वडाध्यक्ष र एक जना वडा सदस्यको उम्मेदवारी रद्द गरेका थिए। निवर्तमान वडाध्यक्ष र सदस्यले गाउँपालिकाबाट लिएका जिन्सी सामान फिर्ता र बेरुजु रकम दाखिला नगरी फेरी वडाध्यक्षको उम्मेदवार भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि वडाध्यक्ष र सदस्यको उम्मेदवारी रद्द गरिएको थियो।
निर्वाचन अधिकृतको कार्यालय वडा नं. २ मा माओवादी केन्द्रका उम्मेदवार शेष मकसुद आलम र माओवादी केन्द्रकै वडा नं. ६ का अध्यक्षका उम्मेदवार शेष उमैदको उम्मेदवारी रद्द गरेको थियो।
माओवादी केन्द्रका तीन जना उम्मेदवारको उम्मेदवारी रद्द भएपछि गत शुक्रबार निर्वाचन अधिकृत कार्यालय अगाडि उनीहरुले प्रदर्शन गरेका थिए।
किन फेरिए सम्सी गाँउपालिकाका निर्वाचन अधिकृत
विगत दुई दिन देखि उम्मेदवारको विषयमा तनावग्रस्त रहेको सम्सी गाँउपालिकामा निर्वाचन अधिकृत फेरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मधेश प्रदेशमा कार्यरत उपसचिव दिलिप कुमार प्रधानलाई हटाएर निर्वाचन आयोगले सिद्धिचरण नगरपालिका ओखलढुंगामा कार्यरत सोहि स्तरका विनोद कुमार दाहाललाई सम्सीको निर्वाचन अधिकृत तोकेको हो ।
सम्सी गाँउपालिकामा गत वैशाख १२ गते मनोनयन दर्ता गरेकाहरु वडा नं. २ का वडाअध्यक्ष उम्मेदवार शेष मकसुद आलम र वडा सदस्य मोहमद मकसुद , वडा न ं. ६ का वडाअध्यक्ष शेष उमैद र वडा नं. ७ का वडाअध्यक्ष तेज नारायण यादवको बरबुझारथ तथा अन्य कागजात नपुगेको भनि निर्वाचन अधिकृत दिलिप कुमार प्रधानले मनोनयन खारिज गरेकोमा पछि उम्मेदवारहरुले सवै कागजात पेश गरेको दावी गरेपछि कार्यालय मै कागजातहरु फेला परेको थियो ।
सोहि विषयमा विगत दुई दिन देखि विवाद र विरोध क्रममा रहि सम्सी स्थित निर्वाचन कार्यालयमा कामकाज ठप्पको अवस्था आएपछि प्रधानले निर्वाचन आयोगलाई सवै व्यहोरा अवगत गराउदै आवश्यक निर्देशनको लागि पत्र लेखेका थिए ।
सोहि क्रममा निर्वाचन आयोगले प्रधानको गल्तीले यस्तो अवस्था सृजना हुन जादा उनलाई हेरफेर गरेको हो ।






