महोत्तरी । महोत्तरीको ४९७ मतदान केन्द्रहरुको लागि मतदान अधिकृत चुनिएका छन । जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोध कुमार महतोले मतदान अधिकृत र सहायक मतदान अधिकृत चुनिसकिएको बताएका हुन । उनले शनिवार तथा आईतवार दुई दिने तालिम पश्चात मतपत्र,मतपेटिका तथा अन्य विभिन्न मतदान गराउन आवश्यक सामग्री मसलन्द सहित उनीहरु २७ गते मतदान केन्द्र पुगिसक्ने बताए ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख महतोले निर्वाचन सम्बन्धी आवश्यक दुई दिने तालिम जलेश्वर स्थित रामानन्द विश्वेश्वर महेश्वर (राविम) क्याम्पसमा हुने बताउदै तालिम पश्चात सवै मतदान अधिकृतहरुलाई नियुक्तिपत्रका साथ मतदान केन्द्रमा पठाईने थपे । यता निर्वाचनको लागि आवश्यक मतपत्र,मतपेटिका तथा मसलन्दहरु सवै प्याकिंग गरेर राखिसकिएको बताउदै जिल्ला निर्वाचन कार्यालय प्रमुख महतोले मतदानको तयारी पुर्ण भैसकेको बताए ।
सुरक्षा तिन घेरामा : यता निर्वाचनको लागि एकिकृत निर्वाचन सुरक्षा योजना अनूरुप तिन घेरामा सुरक्षा प्रदान गरिने महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले वताए । उनले पहिलो घेरामा(मतदान केन्द्र भित्र) नेपाल प्रहरी,दोस्रो घेरामा मोबाईल र पैदल गस्ती(शसस्त्र प्रहरी) तथा तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्ने बताए ।
यता मतदान स्थल र केन्द्रको लागि सोहि ठाउमा खट्ने सुरक्षाकर्मी बाहेक थप रिजर्व फोर्स समेत हुने प्रजिअ दाहालले बताए । उनले नेपाली सेनाको टोलीहरु केहि दिन पुर्व नै मतदान केन्द्रको संवेदनशिलता हेरि विभिन्न ठाउमा परिचालन भैसकेको बताए । महोत्तरीमा सामान्य,संवेदनशिल तथा अतिसंवेदनशिल गरि तिन तहमा मतदान केन्द्रहरु वाडिएकोमा सोहि अनुरुप सुरक्षाकर्मीहरु समेत हुने वताए । प्रत्येक मतदान केन्द्रमा तिनजना नेपाल प्रहरीका साथ ६ जना म्यादी प्रहरीको ड्युटी हुने उनले थपे ।
मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम चलाईने : यता मतदान अधिकृतहरु आफ्नो टोली सहित मतदान केन्द्र पुगेपछि उनीहरुले मतदाता शिक्षा कार्यक्रम संचालन गर्ने जिल्ला निर्वाचन कार्यालय प्रमुख महतोले बताए । उनले वैशाख २८ र २९ गते मतदान केन्द्रमा भौतिक संरचना व्यवस्थापन,मतदाता शिक्षा कार्यक्रम र मतदाता परिचय पत्र वितरण लगायतका कार्यहरु गरिने थपे ।
उनले मतदाता परिचयपत्र भने गत निर्वाचन पश्चात मतदाता भएकाहरुलाई र मतदाता परिचयपत्र हराएको निवेदन दिएकाहरुलाई मात्र वितरण गरिने बताए । पहिले मतदान गरिसकेको र मतदाता परिचय पत्र हराएको निवेदन समेत नदिएकाहरुलाई भने मतदाता परिचयपत्र वितरण नगरिने उनले स्पस्ट पारे ।