जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
पाँच दलिय गठबन्धनले आज जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आमा बुवाले नागरीकता पाई सकेका तर तीनका छोराछोरीले नागरीकता नपाउनु बिडम्बना रहेको बताए ।
उनले अब बस्ने संसदको बैठकबाट नागरीकता सम्बन्धी विधेयक टेबुल गरिने र नागरीकता समस्या समाधान गरिने बताए।
उनले नागरिकताबाट कुनै पनि नागरिक बञ्चित नरहने बताए । नागरिकता पाएका आमा बुवाको छोराछोरीले नागरिकता पाउने उनले आश्वासन दिए ।
त्यसैगरी देउवाले गठबन्धनको विरुद्धमा जानेलाई कारबाही गर्ने चेतावनी दिए । उनले गठबन्धनको विरुद्धमा बोल्ने र पार्टी बाहिर गएर उम्मेदवारी दिनेलाई पार्टीमा कुनै स्थान नरहेको बताए ।
“लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धन विरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य हुने छैन,” उनले भने, “समय अनुसार कारबाही हुन्छ । कतिलाई केन्द्रीय कमिटीले कारबाही गरिसक्यो ।”
त्यसैगरी कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नागरिकता विधेयक ’एमाले गुट’ (नेकपा एमाले) का कारण अघि बढ्न नसकेको बताए । उनले एमालेका सांसदहरूले सदन अवरोध गरिरहँदा विधेयक अघि बढाउन नपाएको बताए ।

अब बस्ने सदनमा विधेयकलाई अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गर्दै उनले सदन अवरोध भए पनि अवरोधका बीच पनि विधेयक अगाडि बढाउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भनेको बताए ।
उनले भने, ’मैले प्रधानमन्त्रीजीलाई पनि भनिसकेको छु, एमाले गुटले अवरोध जारी राखे पनि कुनै हालतमा अवरोधका बीच पनि नागरिकता विधेयक अघि सार्नेछौं ।’ प्रचण्डले निर्वाचनमा प्रतिगामीलाई विजयी हुन नदिने पाँच दलीय गठबन्धनको संकल्प रहेको बताए । केपी ओलीले संसद् विघटन गरेको घटनालाई एक दुर्घटना भन्दै उनले त्यसै आधारमा गठबन्धन तयार भएको बताए । उनले यो गठबन्धनलाई एउटा वा दुईवटा चुनाव मात्रै नभएर पछिसम्म पनि टिकाएर लैजाने बताए ।

यसैबीच जनकपुरमा कायम रहेको गुठी लगायत समस्याबारे गठबन्धनका उम्मेदवारले जितेको खण्डमा समाधान गर्ने उनले भने ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनको विरुद्ध बनेको गठबन्धनको आफ्नै महत्व रहेको बताए ।
यादवले जनकपुरवासीलाई गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । उनले मधेस प्रदेशको राजधानीलाई नमुना बनाउनको लागि पनि गठबन्धनका उम्मेदवार मेयर लालकिशोर साह र उपमेयर किशोरी साहलाई जिताउन जनतालाई अनुरोध गरे ।


