जनकपुरधाम- महोत्तरीमा निर्माणाधीन एक क्रसरमा संचालकको जलेर मृत्यु भएको छ।
भंगहा नगरपालिका ४ जमुनिया स्थित रातु नदी किनारमा निर्माणाधीन एक क्रसरमा सञ्चालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
रातु नदीको किनारमा निर्माणाधीन जय श्री हनुमान वालुवा वासिङका क्रसर उद्योगका सञ्चालक मिथिला नगरपालिका २ बस्ने ३९ वर्षीय दिनेश महतोको मृत्यु भएको हो।



ओछ्यानमा जलिरहेको अवस्थामा उनको शव क्रसर भएकै ठाउँको घरमा फेला परेको प्रहरीले जनाएको छ। करेन्ट लागेर उनको जलेर मृत्यु भएको अनुमान प्रहरी गरेको छ।
तर स्थानीयले महतोको जलाएर हत्या भएको हुन सक्ने आशंका गरेका छन् । आज दिउँसो करिब २ बजेतिर आगो लागे देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाए लगतै घटना स्थल पुगेर भंगहा प्रहरी चौकीबाट खटिएको प्रहरी सहित दमकल र स्थानीयले आगो निभाएका थिए।
महतोले पाटनरसीपमा क्रसर सञ्चालन गरेका थिए। घटनास्थलबाट उनका पार्टनर सुरज महतोलाई स्थानीयको दबाबमा प्रहरीले पक्राउ गरेको छ।
घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको र घटना बारे छानबिन भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।




