जनकपुरधाम- सर्लाहीको हरिवन नगरपालिकामा नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार सहित ५ जनालाई विष खुवाएर मार्ने प्रयास गरिएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रविण पोखरेलले अस्पतालको अनुसार उनीहरुलाई विष खुवाइएको जनाए ।



एसपी पोखरेलको अनुसार चिकित्सकले विष सेवन गराइएको भनेका छन् । उनले बरामीले गरेको बान्ता (बमिट) परीक्षणका लागि पठाउने तयारी भइरहेको र यस घटना विषयमा अन्य तरिकाबाट पनि अनुसन्धान गरिरहेका बताए ।
हरिवन नगरपालिका वडा नं ११ का वडाध्यक्षका उम्मेदवार शेख इस्तिहाक सहित ५ जना बिरामी परेका छन्। इस्तिहाक र ओमप्रकाश साहलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ।
मोहम्मद रिजवान, शेख आरिफ, पूणर्िमा कार्की र दिलिप खड्काको हरिवनमा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुको अवस्थामा सुधार हुँदै गएको छ।
घर दैलो अभियानका क्रममा आफ्ना कार्यकर्तालाई विष खुवाएको भन्दै माओवादीले आइतवार विरोध प्रदर्शन गरेको छ।
यसैबिच प्रहरी प्रधान कार्यालयले अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नखान आग्रह गरेको छ।
प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी विष्णुकुमार केसीले आइतबार सूचना जारी गर्दै अपरिचित व्यक्तिले दिएको सगुन वा प्रसाद खाँदा कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु घटेको पाइएकोले यस्ता घटनाबाट सुरक्षित रहन र त्यस्तो सूचना भएमा प्रहरीलाई तत्काल खबर गर्न भनेका छन् ।





