जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट महोत्तरीको मठिहानी नगरपालिकाका मेयर पदका उम्मेदवार हरिप्रसाद मण्डलमाथि एक समूहले हातपात गरेका छन् ।
गएराती ८ बजे चुनाव प्रचारको क्रममा मठिहानीबाट बरदाहा तर्फ जाँदै गर्दा मण्डल सवार गाडी छेकेर एकिकृत समाजवादी पार्टीबाट मेयर पदका उम्मेदवार रहेका विजय चौधरीका छोरा दिपेशले बाटो छेकेर उनी सहित उनका कार्यकर्तालाई गालीगलोज तथा हातपात गरेका हुन् ।



मेयर पदका उम्मेदवार मण्डलले भने, ‘गाडी किन ओभर टेक गरेको भन्दै निहुँ खोजेर उनले गाडी अगाडी मोटरसाइकल राखेर बाटो अवरुद्ध गर्दै हाम्रो गाडीको चालकलाई गाली गर्न थाले । हामी जाउँ भन्दा म माथि पनि उनले हातपात र दुव्यहार गरे । त्यसपछि हामी जागेर ज्यान बचायौं, नभागेको भए घरेलु हत्यार प्रयोग गरेर आफूमाथि संघातिक आक्रमणको प्रयास हुने थियो।’
घटना सुनेर हेर्न पुगेकाहरुलाई स्थानीय जयकुमार चौधरीले कुटपीट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरु आठ दश जनाको समूहमा जम्मा भएका थिए ।
सोही समयमा मठिहानी मै सांसद चन्दा चौधरीको घरमा पनि आक्रमण प्रयास भएको छ । उनलाई प्रहरीले उद्दार गरेर जलेश्वरतिर पठाएका थिए।
मेयरका उम्मेदवार मण्डल सवारगाडी तोडफोड र दुव्र्यहार भएकोे जानकारी भएलगतै घटना स्थलमा प्रहरी टोली पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीका अनुसार प्रतिनिधिसभा सदस्य चन्दा चौधरीको घरमा पनि हुलहुज्जत भएको छ । सुरक्षाका लागि उहाँलाई मठिहानीबाट प्रहरीको सुरक्षामा रातीनै जलेश्वर तर्फ ल्याएको थियो ।
हातपात तथा हुलहुज्जत गर्ने समूहको पहिचान भइसकेको प्रहरीले जनाएको छ । उनीहरु फरार रहेकोले खोजी कार्य तिब्र पारिएको एसपी पंगेनीले बताए ।




