जनकपुरधाम । धनुषामा भोली शुक्रवार (वैशाख ३०) हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था सहित सबै तयारी पुरा भएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जिल्लाका १८ वटै स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका, मतपत्र लगायतका सामाग्री पुगिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदान स्थलमा म्यादी सहितको सुरक्षाकर्मी परिचालन गरिसकिएको र सशस्त्र प्रहरी र नेपाली सेना पनि छुट्टै रुपमा खट्ने जानकारी दिए।
प्रहरी प्रवक्ता क्षेत्रका अनुसार जिल्लाका मतदान स्थलहरुको सुरक्षाका दुई हजारको संख्यामा नेपाल प्रहरी र ३ हजार १ सय २१ गरी पाँच हजारभन्दा सुरक्षाकर्मी परिचालन गरिएको छ । उहाँले जिल्लामा सुरक्षाकर्मीको आभाव भएपछि प्रहरी प्रधानमन्त्री कार्यालय र क्षेत्रीय कार्यालयबाट थप प्रहरी निर्वाचनका लागि मगाइएकोे जानकारी दिए ।
प्रवक्ता क्षेत्रीले भने, ’भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन मतदान स्थल सहित प्रत्येक पालिकामा सिभिल ड्रेसमा प्रहरी र मानवअधिकार सहितको अनुगमन टोली तथा स्वयंसेवकहरु परिचालन गरिसकिएको छ ।’
जिल्ला निर्वाचन आयोगका कार्यालयका अनुसार जिल्लामा स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ३२ वटा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार सहित सहित ६ हजारभन्दा बढी उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
सबै मतदान स्थलमा मतदान केन्द्रका लागि खटिएका मतदान टोलीबाट सहित कर्मचारी वुधवार(वैशाख २८ गते) देखि खटिएर मतदाता परिचयत्रपत्र वितरण गर्नुको साथै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिका सम्बन्धी जानकारी दिने कार्यक्रम जारी रहेको निर्वाचन आयोगको जिल्ला स्थित कार्यालय मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत प्याकुरेलले धनुषा जिल्लामा ३ सय २३ मतदान स्थल र ५ सय ९६ मतदान केन्द्र कायम गरिएको जानकारी दिए।
त्यसैगरी निर्वाचन आचारसंहिता उलङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता विपरीत भएका कार्य हटाउने आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउने जस्ता कार्य पनि जारी रहेको प्याकुरेलले बताए ।
उनले मंगलवार मध्यराती देखि जारी भएको मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभतेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन कार्य जारी रहेको र त्यस्तो कार्य भए गरेको पाइएमा तत्काल आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए ।
मुख्य निर्वाचन अधिकृत प्याकुरेलले मतदानको दिन मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्नुपर्ने भएकोले मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन जिल्लाका सबै निर्वाचन अधिकृतलाई तथा स्थानीय प्रशासनलाई निर्देशन दिइ सकिएको जानकारी दिए ।
मत बदर हुने सम्भावना बढी
यता मतदाता शिक्षा तथा मतदातालाई जनचेतना जगाउने उद्देश्यले खासै कुनै गतिविधि वा कार्यक्रम यस पटक संचालन नगरिएको हुँदा मत बदर हुने सम्भावना बढेको छ ।
यस पटकको मतदानको प्रकृति फरक भए पनि मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरले मतदाता शिक्षा तथा मतदातालाई जनचेतना जगाउने उद्देश्यले खासै कुनै गतिविधि गरेको छैन । विगतमा मतदान अघि नयाँ मतदाता तथा वृद्धवृद्धालाई लक्षित गरी मतदाता शिक्षा संचालन हुने गरेकोमा यस पटक आयोगले नै मतदाता शिक्षा कार्यक्रम हटाएकाले झन नयाँ मतदाता र वृद्धवृद्धाहरुले दिने मत बदर हुने सम्भावना बढेको छ ।
मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरले २५ भदौमा नै नमुना मतदान गरेका थिए । तर ती नमुना मतदानमा मतदाताको अवस्थामा कस्तो थियो, कति प्रतिशत मत बदर भयो ? लगायतका विषयमा अहिले सम्म निर्वाचन कार्यालयले सार्वजनिक नै गरेका छैनन् ।
मधेश प्रदेश निर्वाचन कार्यालय जनकपुरका प्रमुख श्रीधर पन्थीले धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको एक मतदान केन्द्रमा नमुना मतदान गरिए पनि समयको अभावमा मतदानको अवस्था परिणाम बारे सार्वजनिक गर्न नसकिएको स्वीकार गरे ।उनले भने, ‘नमुना मतदानको परिणाम अहिले सम्म समयको अभावले सार्वजनिक गर्न सकेनौ, त्यति बेला नै सार्वजनिक गर्नुपर्ने हो । तर जनशक्तिको अभावमा गर्न सकेनौ ।’
उनले धनुषामा प्रत्येक मतदान अधिकृतलाई मतदान केन्द्रस्थलहरुमा बुधवार र विहिवार (२८ र २९ वैशाख ) नमुना मतदान गर्न पत्राचार गरिएको बताए ।
सीमा नाका बन्द तथा मदिरा विक्रिवितरणमा निषेध
भोली शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले भारतसँग जोडिएका सीमा नाकाहरु बन्द गरेको छ भने मदिरा विक्री वितरणमा निषेध गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्था अनुसार आदेश जारी गरिएको जानकारी दिए ।
मंगलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्मका लागि धनुषा जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को बिक्रीवितरण र सेवन कार्य निषेध गर्नुका साथै मंगलबार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमा नाकासमेत पूर्णरूपमा बन्द गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।