महोत्तरी - महोत्तरीका सबै मतदानस्थलका मतदान केन्द्रमा मत खसाल्नका लागि तयारी पुरा भएको छ। जिल्लाका १५ स्थानीय तहका २५८ मतदानस्थलका ४९७ मतदानकेन्द्रमा मतदानलाई व्यवस्थित गरिएको जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
“मतदान कार्य सम्पन्न गर्न हाम्रो सबै जनशक्ति सम्बन्धित मतदानस्थल र मतदान केन्द्रमा काममा छन्”, मुख्य निर्वाचन अधिकृत दीपकप्रसाद खरेलले भन्नुभयो, “सबै मतदानस्थल र केन्द्रमा खटिएका कर्मचारीले सुरक्षा घेरा व्यवस्थित गर्ने, मतदाता परिचयपत्र वितरण गर्ने र मतदानको तरिकाबारे बुझाउन कार्य सम्पन्न गरेका छन् , यी सबै कार्य आज अबेर राती सम्म पनि सम्पन्न गरिएको छ।” जिल्लाका सबै मतदानस्थल र केन्द्रको सुरक्षा संवेदनशीलताबारे अध्ययन गरिएको र सो अनुरुप सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
“आम मतदाताले भय रहित भई मतदान गर्न सकुन् भन्ने ध्येयलाई प्राथमिकतामा राखिएको र सो अनुसार व्यवस्था गरिएको छ”, प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भन्नुभयो, “आम मतदातालाई निर्धक्क भएर मतदान गर्न हाम्रो आग्रह छ ।” दक्षिणतर्फ भारतसँगको ३८ किलोमिटर सीमा जोडिएको छ स्थानीय तहका मतदानस्थलको सुरक्षा व्यवस्थामा पर्याप्त जनशक्ति परिचालन गरिएको छ ।
यस्ता ठाउँको सुरक्षा व्यवस्था विशेष चासोसाथ गरिएको जिल्ला प्रशासनले जनाएको छ । “नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित छन्, सबैतिर अनुगमनको व्यवस्था मिलाइएको छ”, प्रजिअ दाहाले भन्नुभयो, “यद्यपि मुख्य पक्ष आम मतदाता, दलहरू र उम्मेदवारमा सकारात्मक चासो हुनुपर्छ ।” मङ्लबार (वैशाख २७ गते) मध्यरातदेखि नै मौन अवधि सुरु भएको छ ।
यसै अवधिमा मतदानमा प्रभाव पार्न भोजभतेर, एकअर्को पक्षबीच भनाभन, दल र उम्मेदवारका कार्यकर्ता समूहमा निस्कनेजस्ता कार्यले निर्वाचन सुरक्षा र निष्पक्षतामा असर पार्ने हुँदा यस्तो कार्य नगर्न लगातार सचेत गराइएको निर्वाचन कार्यालले जनाएको छ । आचारसंहिता सबै पक्षबाट परिपालना गराउन अनुगमन भइरहेकाले अवाञ्छित गतिविधि भए तत्काल कारबाही गरिने बताइएको छ । स्थानीय तहको निर्वाचनका लागि यसपालि जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता छन् ।