सुनिता बराल, महोत्तरी । महोत्तरीको भंगाहा नगरपालिकामा बुधबार साँझबाट रोकिएको मत गणना अझै सुरु हुन सकेको छैन । निर्वाचन कार्यालयले भंगाहा ८ को मत परिणाम सार्वजनिक गर्दा धाँधली गरेको भन्दै नेपाली कांग्रेसले मतगणनामा अवरोध गरेको हो ।
भंगाहा नगरपालिकामा ८ मा ७ सय ५५ मत प्राप्त गरी ६ मतान्तरले जनता समाजवादी पार्टीका सरिफ राईनले निर्वाचन जितेको निर्वाचन कार्यालयले घोषणा गरेको थियो । कांग्रेसले धाँधली गरेर राईनलाई जिताएको आरोप लगाउँदै मतगणना अवरुद्ध गरेको छ । कांग्रेसका राम राउतले ७ सय ४९ मत प्राप्त गरेका निर्वाचन कार्यालय भंगाहाले जनाएको छ ।
कांग्रेसले मत परिणाममा तलमाथि गरिएको आरोप लगाउँदै पुन: मत गणना गर्नुपर्ने अडान राखेको छ । भंगाहाका निर्वाचन अधिकृत केशवप्रसाद अर्यालले लगातार गणना सुरु गर्ने प्रयास गरिएको भएपनि अहिलेसम्म गणना सुरु गर्न सहमति नजुटेकाले गणना सुरु हुन नसकेको बताए ।
गणना सकिएपछि आफ्ना प्रतिनिधिलाई नदेखाई र बिना सहमति मत परिणाम सार्वजनिक गरेपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका जिल्ला सभापति नागेश्वर यादवले बताए । नगरस्तरीय सर्वदलीय बैठक बसेर त्यसको समाधान गर्न कांग्रेस नेताहरु लागिरहेको उनले बताए ।
विवादपछि मंगलबार साँझ ६ बजेबाट मतगणना स्थगित भएको थियो । राति ९ बजेबाट राति १२ बजेसम्म बसेको सर्वदलिय बैठकले बिहीबार बिहान ८ बजेबाट गणना सुरु गर्ने मौखिक सहमति गरेको भएपनि बिहीबार त्यो सहमति मान्न दलहरु तयार नभएपछि पटक पटक बसिरहेको सर्वदलीय बैठकबाट सहमति नजुट्दा गणना सुरु हुन नसकेको अर्यालले बताए । स्रोत : कान्तिपुर




