
युवराज झा,काठमाडौं-जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती तथा जनताको बहुदलीय जनवाद (जबज) अवधारणाको तीन दशक पूरा भएको अवसरमा राजधानीमा एक भव्य राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ। 'जबज: राष्ट्र निर्माणको आधार' भन्ने नाराका साथ आयोजित यस गोष्ठीमा मुलुकका शीर्ष नेताहरुले जननेता भण्डारीको योगदानमाथि प्रकाश पारेका थिए। गोष्ठीमा प्रमुख अतिथि रूपमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जबजको सैद्धान्तिक गहिराइ र नेपालको सन्दर्भमा यसको प्रयोगात्मक सफलताको बारेमा सम्बोधन गर्नु भयो।
उहाँले जनताको बहुदलीय जनवादलाई लोकतन्त्रको नेपाली मोडेल भन्दै राष्ट्र निर्माणको मार्गदर्शक सिद्धान्तको रूपमा व्याख्या गर्नुभयो। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीले ल्याएको राजनीतिक सिद्धान्तले नेपाली राजनीतिमा स्थायित्व, लोकतान्त्रिक अभ्यास र सुदृढ संस्थागत विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभयो।
उहाँले भण्डारीको दूरदर्शिता र निष्ठालाई आगामी पुस्ताका लागि प्रेरणा स्रोतका रूपमा लिनुपर्ने बताउनुभयो। पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जबजलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न पार्टीले खेलेको भूमिकाको चर्चा गर्नुका साथै वर्तमान राजनीतिक चुनौतीहरूमा पनि यसको सान्दर्भिकता झल्किएको धारणा राख्नुभयो। उक्त गोष्ठीको अध्यक्षता मदन भण्डारी फाउन्डेशनका केन्द्रीय अध्यक्ष उषा किरण भण्डारीले गर्नुभएको थियो। उहाँले मदन भण्डारीको विचार र सिद्धान्तलाई अध्ययन, प्रचार र व्यवहारमा उतार्न फाउन्डेशन प्रतिबद्ध रहेको बताउनुभयो।