जनकपुरधाम- सर्लाहीको लालबन्दी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार वासुदेव अधिकारी निर्वाचित भएका छन्।
शुरुआती अवस्थाबाटै अग्रस्थानमा रहँदै आएका अधिकारीले वड नम्बर १६ र १७ नम्बरको अन्तिम मतपरिणाम नआउँदै जित सुनिश्चित गरेका हुन्। अब यी दुई वडामा गणना गरिने मतभन्दा बढी अग्रता लिएसँगै अधिकारीले जित सुनिश्चित गरेका हुन्।



यद्यपि निर्वाचन अधिकृतको कार्यालयले जितबारे आधिकारिक घोषणा गरिसकेको भने छैन।
उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गोविन्द बहादुर महतलाई पछि पारेका हुन्। यहाँ नेकपा समाजवादी र नेकपा माओवादीले मेयर तथा उपमेयरमा गठबन्धन गरेका थिए। गठबन्धनबाट नेकपा माओवादी केन्द्रका प्रह्लाद बुढाथोकी तेस्रो भए।
लालबन्दीमा १७ ओटा वडाहरू छन्। वडा नम्बर २, ८, १२ र १५ मा नेकपा माओवादी केन्द्रले जितेको छ। त्यस्तै १६ र १७ को अन्तिम मत परिणाम आउन बाँकी छ। यस्तै नेकपा एमालेले वडा नम्बर ६, ११ र १४ जित्यो भने बाँकी १ नम्बर वडाबाहेक सबै कांग्रेसले जित्न सफल भयो। वडा नम्बर १ मा भने पुतली चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवारले जित्न सफल भए।
कम्युनिष्टहरूको गढ मानिने लालबन्दीमा यसअघि पनि २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले अधिकांश वडा जितेको थियो। तर मेयरमा नेकपा एमालेका मानबहादुर खड्काले जितेका थिए। तर यसपटक अन्तिम समयमा आएर खड्काको मेयरको टिकट खोसिएको थियो।
निर्वाचित अधिकारी भने पार्टीको केन्द्रको निर्णय विपरीत चुनावमा होमिएका थिए।
नेपाली कांग्रेसका उम्मेदवार अधिकारीलाई पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी फिर्ता गराउन दबाब दिएका थिए। उम्मेदवारी दर्ताको अन्तिममा समयपछि आएको देउवाको पत्रले उनको उम्मेदवारी रद्द हुन पाएको थिएन।




