गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादव तराईको मरुभूमीकरणलाई लिएर चिन्तित छन् । उनले चुरेभावर क्षेत्रको वन विनाश र अनियन्त्रित दोहनलाई लिएर वेलाबखत बोल्ने गरेका छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम उनकै पालामा सुरु भएको थियो । चुरे संरक्षण, तराईको मरुभूमीकरण र पछिल्ला दैनन्दिनी वरपर रहेर विवेक पोख्रेलले पूर्वराष्ट्रपति यादवसँग गरेको कुराकानी :
चुरे क्षेत्रमा भइरहेको दोहनबारे तपाईं निरन्तर चिन्ता व्यक्त गर्नुहुन्छ । चुरेबारे तपाईंको बुझाइ के हो ?
मैले मेडिसिन पढेँ । प्लान्ट साइन्स इन्टरमेडियटसम्म मात्र पढेँ । मान्छेमा समयअनुसारको लगाव हुन्छ । हाम्रो जमानामा भूगोल र इतिहासमा बढी जोड दिइन्थ्यो । देशको भूगोल, हिमाल, चुरे र तराईले निर्मित छ । ठुला राष्ट्र चीन र भारतबिचमा हाम्रो भौगोलिक अवस्थिति छ ।
यो पृथ्वी मनुष्यको मात्र होइन भन्ने कुरा सबैलाई थाहा छ । आज मानव मस्तिष्कले आकाशदेखि पातालसम्म पृथ्वीका सारा कुरालाई नियन्त्रण गरेको छ । मानिसले सारा स्रोत–साधनको उपभोग गरिरहेको छ । जनावर, पशुपक्षी, किरा–फट्यांग्रादेखि आँखाले देख्ने र नदेखिने जीव, जगत् र वनस्पती जगत्सम्म त्यसैगरी जल, जमिन, सूर्यको किरणसँगै हावा आदिको इकोसिस्टम मानवको जीवनसँग अभिन्न रूपले गाँसिएको छ । यसर्थ, हामीले पृथ्वीलाई कसरी संरक्षण र संवद्र्धन गर्छाैं । हाम्रा सन्ततिलाई कस्तो अवस्थामा हस्तान्तरण गर्छौं भन्ने प्रश्नले मेरो मन–मस्तिष्कलाई बारम्बार झस्काइरहन्छ । पृथ्वीको पारस्थितिकीय प्रणालीप्रति मेरो अगाध मोह छ ।
मैले आफ्नै जीवनकालमा तराईको जंगल समाप्त भएको देखेँ । तराईको जंगल घना थियो । चार कोसभन्दा धेरै विस्तारित थियो । यही कारण चारकोसे झाडी भन्ने गरिन्थ्यो । जैविक विविधताले भरिपूर्ण थियो । अहिले म ८२ वर्षको भएँ । मेरै आँखा अगाडि तराईको जंगल सखाप भयो । यसको विनाश राणाकालदेखि सुरु भयो । राणाकालमा हिन्दुस्तानमा रेलमार्ग निर्माणका लागि, पञ्चायतकालमा पञ्चायतलाई जिताउन र टिकाउन ०३७ सालमा जंगलको दोहन खुला गरियो । बहुदलकालमा हामीले अलिकति भए पनि नियन्त्रण गर्यौँ । ०५२ सालदेखि हतियारको राजनीति सुरु भयो । पुनः वन विनाशले गति लियो । अनियन्त्रित रूपमा वन फँडानी भएर बाहिर निकासी हुँदा तराईको जंगल समाप्त भयो । चितवन, बारा, पर्सा, कैलालीतिर अलि–अलि बाँकी छ अब । चुरेको जंगल पनि आधाउधी समाप्त भइसकेको छ । मैले चुरेलाई संरक्षण गरौँ भन्दै आइरहेको छु । पछिल्ला सरकारले चुरेलाई चिर्दै राजमार्ग बनाइदिए । हुलाकी राजमार्ग छँदै थियो । पूर्व–पश्चिम राजमार्ग छँदै थियो । पूर्व–पश्चिम रेलमार्ग बनिरहेकै छ । चुरेको केही माथिबाट मध्य–पहाडी राजमार्ग खुलेकै छ । किन जरुरी थियो, चुरेको जंगल सखाप पारेर राजमार्ग बनाउन?
जहाँ राजमार्ग बन्छ, त्यहाँ बसाइँसराइ हुन्छ । जंगलमाथि दबाब बढ्छ । जीवजन्तु वासस्थान सखाप हुँदा गाउँबस्ती पसिरहेका छन् । पहाडदेखि तराईसम्मका जति पनि नदीनाला छन्, तिनको अनियन्त्रित दोहन भइरहेको छ । संसारमा स्थापित विधि छन्, प्राकृतिक स्रोत–साधनको दोहन गर्ने । र, पारिस्थितिक प्रणालीलाई कसरी बचाउने भन्ने पनि वैज्ञानिक विधि छन् । तर, हामीकहाँ सही काम भइराखेको छैन । यो देख्दा मलाई पीडा हुन्छ । भूगोलमैत्री विकास भइरहेको छैन । जथाभावी पहाडमा डोजर चलाइन्छ । पानीका मुहान सुकेका छन । वर्षामा मात्र होइन, हिउँदमा पनि सुक्का पहिरोका घटना बढेका छन् । कृषिजमिन नष्ट भइरहेको छ ।
चुरेको विनाशले मलाई पीडा हुने कारण सुनाउँछु । ०३६ सालमा ४० देखि ५० फिटमा पानी आउँथ्यो । अहिले चार सय फिटमा पनि पानी आउँदैन । पानीको पुनर्भरण हुने ठाउँ चुरेभावरको अनियन्त्रित दोहन भएको छ । वनजंगलदेखि गिटी–बालुवा, ढुंगासम्मको दोहनका कारण पानी अडिएर जमिनमा पानी रिचार्ज हुन पाएको छैन । ४० वर्षमा ४० फिटबाट जनकपुर, वीरगन्जमा ४०० फिटमुनि मात्रै पानी भेटिने स्थिति बनेको छ । यो कुराले बयान गर्छ, तराईको हालत । पानीको हाहाकार छ तराईमा । लोकतान्त्रिक आन्दोलन भयो, गणतान्त्रिक शासन छ मुलुकमा । तलदेखि प्रदेश र केन्द्रसम्म नै जनप्रतिनिधि छन् । उनीहरूलाई यसमा पीडा किन छैन ?
चुरेको दोहन र बढ्दो जलसंकटलाई लिएर जनप्रतिनिधिलाई पीडा महसुस किन नभएको होला ?
उहाँहरूलाई पीडा किन भइरहेको छैन, म भन्न सक्दिनँ । स्थानीय सरकार छ । प्रदेश र संघीय सरकार छन् । प्रदेश र संघीय संसद्मा यस्ता विषयमाथि हप्ताभर गहन छलफल हुनुपर्ने हो । तराई अन्न भण्डार थियो, आज बन्जर हुँदै छ भन्दै छन् वैज्ञानिकहरू । चुरे र भावरको दोहन जुन अनियन्त्रित प्रकारले भइरहेको छ, यो गतिको दोहनले चुरेभावरमा अबको ३० वर्षमा मरुभूमीकरण हुन्छ । तराई मरुभूमि भयो भने पहाड र हिमालमा पनि असर पर्छ । तराई मरुभूमि हुँदा पहाडमा तापक्रम बढ्छ । हिउँहरू थप पग्लनेछन् । हाम्रो सभ्यता नै नष्ट भएर जान्छ । म विज्ञानको विद्यार्थी हुँ । जल, माटो, जंगलबारे मसँग कुनै डिग्री त छैन, तर जिन्दगीको अनुभव छ । मैले तराईदेखि हिमालसम्म घुमेको छु । हाम्रो जुन भूबनोेट छ, त्यहीअनुरूपको भूमैत्री विकासको मोडलबाट मात्रै देश विकास सम्भव छ । त्यस्ता मोडल छन् विश्वमा । पहाड त युरोप, अमेरिकामा पनि छन् नि !
अहिले विकास भनेकै ‘क्रंक्रिटजन्य निर्माण’ हो भन्ने भाष्य सिर्जना भएको छ । तपाईंको अनुभवले के भन्छ ?
मभन्दा धेरै विद्वान् मानिस पदमा छन् । पढेका प्रशस्तै मानिस सरकारमा पुगेका छन् । उनीहरूले यो कुरा बुझ्नुपर्ने हो । आज रार्जमार्गवरपर हजारौँ क्रसर उद्योग देख्न सक्नुहुन्छ तपाईं । तीमध्ये ७० प्रतिशत क्रसर अवैध छन् । तिनको कनेक्सन राजनीतिक मानिससँग छ । उनीहरू क्रसर उद्योगीबाट पैसा लिन्छन् । पैसा लिएर त्यस्ता मानिसलाई स्थानीय, प्रदेश र संघका टिकट दिइन्छ । पहुँच उनीहरूकै छ । आफ्ना सन्ततिको भविष्य नै खराब पार्ने काम नगरौँ । तराईलाई मरभूमि नबनाऔँ ।
पहाडमा जथाभावी डोजर लगाइएको छ, विस्फोट गरेर सडक खोलिएको छ । चितवनको सिमलतालमा दुइटा बस खस्नुको कारण पनि ग्रामीण सडक विस्तार हो भन्ने मैले रेडियोमा केही दिनअघि सुनेँ । सडकको विस्तार वैज्ञानिक हुनुपर्यो । सडक र क्रंक्रिट मात्रै विकास होइन । सरकारमा रहेकाले जनतालाई यो कुरा बुझाउनुपर्छ । सडक कहाँ खन्ने, कहाँ बनाउने, कहाँबाट बालुवागिटी झिक्ने–नझिक्ने प्रभावकारी कानुन बनाउनुपर्छ । चुरेको पहाड मानिसले बनाउन सक्दैन ।
नियम–कानुन बनाउने ठाउँमा नै दोहन गर्ने मानिसको पहुँच छ भन्नुहुन्छ । यो समस्याको समाधान सहज छैन ?
बुद्धिजीवीले यसमा कलम चलाउनुपर्यो । मिडियाले तथ्यहरू उजागर गरिदिनुपर्यो । मिसनको रूपमा लानुपर्यो यसलाई । साधारण किसानले समेत हिजोआज अवैज्ञानिक तवरले ढुंगागिटी तथा बालुवा उत्खन भएको बुझेर आवाज उठाउने गरेका छन् । जंगल मासिएका कारण विपत्ति आएको भनेर सुनाउँछन् ।
तपाईं आफू राष्ट्रपति रहँदा यो विषयमा के–के गर्नुभयो ? अब के गर्नुपर्ला ?
०६६ सालदेखि नै हो मैले यो कुरा उठाएको । सुशील कोइरालाको सरकारले यसमा राम्रो काम गरेको थियो । विज्ञहरूले आएर काम गरेका थिए । पछि प्रचण्डको पालामा २० वर्षको गुरुयोजना पास भयो । तर, अग्नि सापकोटा वनमन्त्री हुँदा विज्ञ टिम र उहाँबीच खटपट भयो । उहाँहरूले छाडेर जानुभयो । त्यसपछि उद्देश्यअनुसार काम भएन । गुरुयोजना पास भएको छ । चुरे संरक्षणका लागि जबसम्म कानुन बन्दैन, तबसम्म यसको संरक्षण हुँदैन । विधेयक ल्याएर कानुन बनाउनुपर्छ । मैले यस्तो सम्भावना नदेखेपछि अध्यादेशबाट भए पनि कानुन ल्याउन भने, तर कसैलाई पनि यसको चिन्ता नै भएन । सरकारले यो विषयलाई हल्का ढंगले लिनु हुँदैन । यो राष्ट्र र पुस्तौँपुस्ताको हितको लागि छ भन्ने बुझेर कानुन बनाई व्यवस्थित गर्नुपर्छ ।
तपाईंलाई राजनीतिमा फर्किएर चुरे संरक्षणमा लागौँ भन्ने लागेन ?
म कन्ट्रोभर्सीमा जान्नँ । क्यान्सरको अप्रेसन पछि सात–आठ वर्ष भयो नियमित चिकित्सकको परामर्शमा छु । मेरो उमेरले पनि राजनीतिमा सक्रिय हुने अवस्था छैन । चुरे मात्र होइन, धेरै कुरा छन् काम गर्नुपर्ने त ।
संविधानले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन अनुमति दिन्छ कि दिँदैन ?
त्यो तपाईं विज्ञलाई सोध्नुस् । यो संविधान एक दिनको कमाइ होइन । १९ दिने आन्दोलनको मात्रै कमाइ पनि होइन । आठ दशकको उपलब्धि हो ।
पूर्वराष्ट्रिपतिको सेवा–सुविधाको विषयमा टीकाटिप्पणी हुने गरेका छन् ? यसमा के भन्नुहुन्छ ?
राज्यले व्यवस्थित गरेको छैन । कानुन बनेको छैन् । जति गरेको छ, त्यो कानुन बनाएर गरेको होइन । म यस विषयमा सार्वजनिक रूपमा केही बोल्न चाहन्नँ । कानुन बनाएर व्यवस्था गरिदिए विवाद हुन्थेन ।
तपाईं राजनीतिमा सक्रिय नभए पनि पूर्वराष्ट्रप्रमुखको दैनिकीचाहिँ कस्तो होला भनेर जनता बुझ्न चाहन्छन् । तपाईं अहिले केमा सक्रिय हुनुहुन्छ ?
यसबारे म अहिले बताउन चाहन्नँ । तर, जनताबाट पाउने प्रतिक्रिया मेरो जिन्दगीभरको कमाइ हो । यही नै पुँजी हो जीवनको । देशमा लोकतन्त्र बलियो होेस् । सबैको जीवन सुन्दर होस् भनेर दुइटा संविधानसभाबाट संविधान ल्याइयो । त्यो संविधान दीर्घजीवी होस् । प्रजातान्त्रिक प्रक्रिया अघि बढोस् । मेरो कर्तव्य त्यो हो ।
हामी चितवनको भरतपुरमा बसेर यो संवाद गर्दै छौँ । तपाईंको जीवनमा चितवनसँग जोडिएको कुनै किस्सा छ भने सुनाउनुस् न ।
डाक्टरी पढ्दादेखि नै राजनीतिसँग सम्बन्ध भयो । लोकतन्त्रका लागि विभिन्न आन्दोलन भए, त्यसमा मेरो संलग्नता रह्यो । चितवन आउँदा म यहाँको ००७ साल ०४६ साल हुँदै ०६२/०६३ सम्मको इतिहास सम्झन्छु । यहाँबाट परिवर्तनका लागि धेरै सहिद भएका छन् । यहाँबाट धेरै संघर्ष भएको छ । ०६२/०६३ को आन्दोलनका बखत म एक–डेढ महिना चितवनमा थिएँ । गिरिजाबाबुले आन्दोलनको सुरुवात यहीँबाटै गर्नुभयो । म त्यसको संयोजक थिएँ । त्यसबखत ६०–७० हजार मानिससहितको भव्य सभा गरेका थियौँ ।
अन्तमा, गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिको हैसियतले जनतालाई केही भन्न चाहनुहुन्छ ?
हामी लोकतन्त्रको सिस्टममा छौँ । लोकतन्त्रमा जनता ‘वाच डग’ भएर बस्नुपर्छ । हाम्रो मिलेर बस्ने परम्परा छ । यो परम्परा नबिग्रियोस् भन्ने लाग्छ । जहाँ बसेपछि हामी नेपाली हौँ । सहकार्य गरेर जाऔँ भन्ने मेरो आग्रह छ । -नयाँ पत्रिका