लक्ष्मी चौधरी
जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचाररत सुत्केरी महिलाको मृत्युपछि आइतबार उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । शनिबार मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गी लाल रायको अध्यक्षतामा भएको छलफलपछि सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने निर्णय गरिएको प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. रामज्ञान यादवले विज्ञप्ति जारी जानकारी दिनुभएको छ । निर्णय भएको दुई दिन हुँदा पनि समितिले पूर्णता पाएको छैन ।



मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य तथा नीति तर्जुमा महाशाखा प्रमुख डा. विपिनकुमार झाले उच्च स्तरीय छानबिन समितिको संयोजन डा. इन्द्रजित रजकलाई जानकारी दिएको र बाँकी सदस्यका बारेमा छलफल भइरहेको बताउनुभयो । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका व्रmममा २६ वर्षीय सुत्केरी अन्जिना यादवको मृत्युभएको थियो । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१२ बस्ने राधेश्याम यादवकी पत्नी सुत्केरी अन्जिना यादवको सघन कक्षमा उपचारका व्रmममा मृत्यु भएपछि परिवारजनले अस्पतालका चिकित्सकको लापर्बाहीका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
अन्जिनाका पति राधेश्यामले शल्यव्रिmयामा संलग्न चिकित्सक धीरेन्द्रकुमार साह र श्रेया लक्ष्मी साहको लापर्बाहीका कारण आफ्नो श्रीमतीको मृत्यु भएको आरोप लगाउनुभएको छ । मृतकका पति राधेश्यामले भन्नुभयो, “म आफ्नो पत्नीलाई पहिलो शल्यव्रिmयापछि भेट्न जाँदा मलाई बचाउनु यिनीहरूले मलाई मार्छन् भनेर गुहार लगाउनुभएको थियो तर दोस्रो शल्यव्रिmयापछि बोल्नु नै सक्नुभएन ।”
राधेश्यामका अनुसार जेठ ४ गते बिहान करिब ४ बजे प्रसव पीडापछि अन्जिनालाई अस्पताल ल्याइएको थियो । प्रारम्भिक जाँचपछि चिकित्सकले सामान्य सुत्केरी हुने बताएका थिए तर केही समयपछि आकस्मिक शल्यव्रिmया गर्नुपर्ने अवस्था आएको थियो । शल्यव्रिmयामार्फत शिशुको जन्म गराइए पनि त्यसपछि अन्जिनामा अत्यधिक रक्तस्राव भएको चिकित्सकले भनेको पति राधेश्यामले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बच्चा निकालेको करिब तीन घण्टापछि चिकित्सकले अन्जिनाको ज्यान बचाउन पाठेघर निकाल्नुपर्ने भनेपछि हामीसँग सोच्ने समय नै थिएन । श्रीमतीको ज्यान जोगियोस् भनेर पाठेघर निकाल्न पनि सहमति दियौँ,” तर दोस्रो शल्यव्रिmयापछि अन्जिनाको अवस्था झन् गम्भीर भएको भन्दै चिकित्सकले भेन्टिलेटरमा राखेका थिए । स्वास्थ्यमा सुधार आउन नसक्दा गत शुव्रmबार अन्जिनाको मृत्यु भएको थियो ।
अन्जिनाको मृत्युको खबर थाहा पाएपछि परिवारजन अस्पताल प्रशासनविरुद्ध आन्दोलनमा उत्रिएका थिए । उनीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा शल्यव्रिmयामा संलग्न चिकित्सकलाई निलम्बन गर्न मागसमेत गरेका थिए । आन्दोलनपछि अस्पताल प्रशासन र पीडित परिवारबिच भएको छलफलमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने, छानबिन नसकिएसम्म शल्यव्रिmयामा संलग्न चिकित्सक धीरेन्द्र साह र श्रेया लक्ष्मी साहलाई निलम्बन गर्ने तथा मृतकका अवस्था गम्भीर भएपछि अस्पताल प्रशासनका जिम्मेवार व्यक्ति मेडिकल सुपरिन्टेन्डेन्ट डा. जामुन सिंहले समेत लापर्बाही गरेको भन्दै उहाँमाथि पनि कारबाही प्रव्रिmया अघि बढाउने विषय समेटिएको थियो ।
तर दुई पक्षबिच भएको सहमतिविपरीत चिकित्सकले निलम्बनको विरोध गर्दै अस्पतालका सबै सेवा ठप्प पारेका थिए । उता अस्पताल प्रशासनको तर्फबाट प्रतिष्ठानका रेक्टर डा. रामनरेश पण्डितले भने अन्जिनाको अवस्था सुरुदेखि नै जटिल रहेको दाबी गर्नुभएको छ । सामान्य सुत्केरी हुने अनुमान गरिए पनि अचानक शल्यव्रिmया गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । मृतक अन्जिनाले गर्भावस्था अवधिभर कतै पनि चेकजाँच नगराएको हुँदा उहाँमा तत्काल देखिएका समस्याबारे चिकित्सकलाई जानकारी भएन । तत्पश्चात् पनि शल्यव्रिmयापछि रक्तस्राव नरोकिएपछि स्वास्थ्यकर्मीको टोलीले उपलब्ध सबै स्रोत साधन प्रयोग गरी उपचारको प्रयास गर्दा बिरामीलाई बचाउन नसकिएको डा. पण्डितले बताउनुभयो ।




