धनुषा- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं ५ को क्षीरेश्वर मा.वि (ङ) मतदान केन्द्रको मतगणना पुन: हुने भएको छ ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत वडा नम्बर-५ को क्षीरेश्वर मावि (ङ) मतदान केन्द्रको मतगणना कार्य भईरहेको अवस्थामा दलका प्रतिनिधिहरुले सो विषयमा विवाद सिर्जना गरेकोले सहज ढंगले मतगणना कार्य अगाडि वढाउन सकिने अवस्था नभएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि मतगणना कार्यलाई स्थानीय निर्वाचन कार्यालयले स्थगित गरिएको थियो ।



विवादको सम्बन्ध केन्द्रिय निर्वाचन आयोगले आज पत्र पठाएर विवादीत केन्द्रको मतगणना पुन: गर्न निर्देशन दिएको छ ।
आयोगले निर्वाचन अधिकृतको कार्यालय क्षीरेश्वरनाथ र जिल्ला प्रशासन कार्यालय धनुषाको नाममा निर्देशन जारी गर्दै मतगणना सम्पन्न भइ मतपरिणाम घोषणा नभएको र अनुसूचि अनुसार घोषणामा नभएका वडाको पुन: मतगणना गर्न निर्देशन दिने र सहजता अनुसार अन्य वडाको मतगणना सुचारु गर्न सम्बन्धीत निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।
त्यसैगरी मतगणना गर्न राजनीतिक दल तथा उम्मेदवार वा निजका प्रतिनिधि सहमत नभएमा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा १६७ बमोजिम गर्न गराउन सम्बन्धीत निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
मतगणना कार्यमा बाधा अवरोध सिर्जना गर्न खाेजेको खण्डमा जो काेहीलाई स्थानीय प्रशासन एेन तथा निर्वाचन कसुर तथ सजाय एेन २०७३ अनुसार सख्त कारवाही गर्न जिल्ला प्रशासन कार्यालय धनुषालाई समेत निर्देशन गरेको छ ।

- क्षीरेश्वरनाथका निर्वाचन अधिकृत विकास बस्नेतले आयोगबाट आएको निष्कर्ष सहितको निर्देशन अनुसार सर्वदलिय बैठक बसी मतगणना सुरु गर्ने वातावरण मिलाई रहेको बताए ।
क्षीरेश्वनाथ नगरपालिकाको निर्वाचन अधिकृत विकास बस्नेतले दुबै पक्ष सहित सर्वदलीय छलफल गरि मतगणना सुरू गर्ने वातावरण बनाईरहेको बताए । उनले दुबै पक्षलाई छलफलमा राखी सहमतिमा कानून अनुसार गरिने बताए ।
यस नगरपालिकामा कांग्रेसबाट निवर्तमान मेयर योगेन्द्र पजियार, एमालेबाट सुखदेब यादव र एकीकृत समाजवादीबाट शिवशंकर प्रसाद सिंह लगायतका उम्मेदवारहरु छन् ।
निवर्तमान मेयर पजियार र सुकदेव यादव बीच कडा प्रतिस्पर्धा चलिरहेको देखिएको छ । पछिल्लो समय यादवले अग्रता लिएका छन्। पजियार कांग्रेसका जिल्ला सभापति समेत हुन् ।





